अपडेट 
२०८१ जेष्ठ २४, बिहीबार १४:४०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनी गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिएका हुन्। उनले गिरीबन्धुकाे अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती पनि दिए।

महामन्त्री शर्माले भने, ‘ गिरीबन्धुकाे फाइल खोल्नका लागि तयार हुनुहुन्छ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न। बोल्न सक्नुभएको भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनूस् पूर्वप्रधानमन्त्रीज्यू भनेर उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन।’

यस्तै, उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझावसमेत दिए।

उनले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले गरेको काम ठिक रहेको र  शाहलाई काम गर्न दिनुपर्ने बताए।

त्यस्तै, महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनी परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरेका छन्।

अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनको भनाइ थियो। 

शर्माले भने , ‘नेपाली क्रिकेट टिम यसबेला विश्वकपको मैदानमा छ। हिजो आरोप लागिरहेको बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रिनुहुन्न हामी कयौंले भन्यौं। तर सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यस बेलामा सन्दिप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो। आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाको लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गरिनुपर्दथ्यो। यसमा कमजोरी कहाँ रह्यो? यो किन कमजोरी भयो?’

Comment


Related News

Latest News

Trending News