अपडेट 
२०८१ जेष्ठ २४, बिहीबार २०:०५

इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्र सङ्घीय विद्यालयमा हमास कार्यालय परिसर रहेको भन्दै गरेका घातक हवाइ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको गाजाको एक अस्पतालले जनाएको छ।

इजरायली सेनाले मध्य गाजाको नुसिरात क्षेत्रमा रहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय (युएनआरडब्लुए) विद्यालयभित्र रहेको हमासको कार्यालय परिसरमा इजरायली हवाइ आक्रमण हुँदा कैयौँ ‘आतङ्ककारी’ को मृत्यु भएको बताएको छ।

हमास नियन्त्रित सञ्चारमाध्यमले यसलाई गैरमानवीय भयानक नरसंहार बताएको छ। इजरायलले गाजामा हमास र यसका सहयोगीहरूलाई विद्यालय, स्वास्थ्य सुविधाहरू र अन्य नागरिक पूर्वाधारलाई परिचालन केन्द्रका रूपमा प्रयोग गरेको आरोप बारम्बार लगाउदै आएको छ।

इजरायलले गाजालाई लगभग सबै सहयोगको समन्वय गर्ने युएनआरडब्लुएलाई आफ्नो १३ हजार कर्मचारीहरू मध्ये करिब एक दर्जनलाई आक्रमणमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएदेखि नै सहयोग अभियानमा समस्या परेको छ । युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले गत हप्ता न्युयोर्क टाइम्सले प्रकाशित गरेको एउटा लेखमा इजरायलले ‘युएनआरडब्लुए विरुद्धको आफ्नो अभियान रोक्नुपर्छ’ भनेका थिए।

गाजाको अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण युद्ध हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको हो। इजरायलले युद्धको सञ्चालनलाई लिएर बढ्दो कूटनीतिक आलोचना खेप्नु परेको छ। इजरायलबिरूद्ध दुई अन्तर्राष्ट्रिय अदालतहरूमा मुद्दा दायर गरिएको छ र केही युरोपेली राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन्।

Comment


Related News

Latest News

Trending News