अपडेट 
२०८१ जेष्ठ २६, शनिबार ०६:५६

मनोज माझी |

जनमत पार्टीका सतीशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि जिल्लावासी हर्षित भएका छन् । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको कोइलाडी गाउँमा २०३९ मंसिर ८ गते जन्मेका सिंह जिल्लाबाट पहिलो तथा प्रदेशको तेस्रो मुख्यमन्त्री बनेपछि जिल्लावासी उत्साहीत र खुशी भएका छन् ।

यसअघि २०७४ सालमा तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष तथा प्रदेशको साँसद हुँदै अर्थ र योजना समितिका सभापति पदमा रही कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेका सिंह मुख्यमन्त्री बनेपछि गृह जिल्लाको बजारका मुख्य चौकहरुमा दीप प्रज्जवलन तथा लड्डु बाँडेर कार्यकर्ता, शुभचिन्तक र आफन्तले खुशियाली मनाएका छन् । उनको घर र छरछिमेकमा समेत खुशीको माहोल छाएको छ । राजविराज २ स्थित सिंहको घरमा बधाई दिन आउनेको लर्काे लागेको छ ।

उनी जनकपुरधाममा रहेकाले परिवारका सदस्यलाई बधाई थाप्न भ्याइ नभ्याइ भएकोछ । “मलाई र परिवारका सदस्यलाई घरमा भेट्न आउने र फोनबाट बधाई दिने सिलशिला शुक्रवार विहानै देखि चलिरहेको छ, जनकपुरधाममा रहेका सिंहले भने–‘म मुख्यमन्त्री भएको खबरले जिल्लावासी गदगद भएको महशुस गरेको छु ।’ उनले सुशासन र समृद्धिको यात्रामा प्रदेशलाई अघि बढाउने बताएका छन । हरेक क्षेत्रमा पछाडि परेको प्रदेशलाई सुशासन र समृद्धिको दिसामा लैजान आपूm दृढ इच्छाशक्तिका साथ अघि बढ्ने उनको भनाइ छ ।

आफ्नो नेतृत्वको सरकारबाट प्रदेशवासीले ठूलो आशा गरेकाले सोही अनुसार अघि बढेर जनताको भरोसा र मन जित्ने उनले दाबी गरे । “संस्कारी र राजनीतिक पृष्ठभूमि भएका परिवारको सदस्य भएकाले मलाई आम प्रदेशवासीले पनि साथ दिने कुरामा विश्वस्त छु, उनले थपे–‘म हुन नसक्ने ठूलो कुरा गरेर हिड्दिन, बोलेको कुरा पूरा गरेर देखाउँछु ।” उनले सत्ता समीकरणमा रहेका दलहरुबीच स्वस्थ्य सहकार्य हुने विश्वासका साथ यो गठबन्धनको सरकार कुशलता र सफलताका साथ बाँकी कार्यकाल पूरा गर्ने दाबी समेत गरे ।

गाउँपालिका अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै राजनीतिक यात्रा थालेका सिंह स्नातक सम्मको शिक्षा हासिल गरेका छन् । श्रीमान् मुख्यमन्त्री बनेको खबरले ३८ वर्षीया श्रीमती अन्नु सिंहको पनि खुशीको सीमा छैन् । मुख्यमन्त्रीको पत्नी भएकी छु, खुशीको सीमा छैन, उनले भनिन–‘उहाँको योग्यता र राजनीतिमा समर्पणको सबैले उचित मुल्यांकन गरेको जस्तो लाग्छ ।” उनका पिता शेखर सिँह पनि राजनीतिमा सक्रिय छन् । तर बाबु–छोराको पार्टी भने फरक छ ।

उनका पिता सिंह अहिले लोसपाबाट राष्ट्रियसभा सदस्य छन् । पार्टी फरक भए पनि बाबु कै प्रेरणाबाट राजनीतिमा होमिएको बताउने मुख्यमन्त्री सिंह भन्छन–“पार्टी फरक भए पनि संस्कार र ज्ञान उहाँबाटै प्राप्त गरी राजनीतिक जीवनको सुरुवात गर्दै अघि बढिरहेको छु ।” कुनै बेला क्रिकेटका राम्रा खेलाडी रहेका उनी गाउँ कै कोइलाडी क्रिकेट क्लबका कप्तान समेत थिए । उनी अहिले मधेश प्रदेश क्रिकेट संघको निर्वाचित सदस्य समेत हुन ।

सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन राजपाबाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । २०७९ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा उनी जनमत पार्टीका तर्फबाट सप्तरीको प्रदेश सभा–२ को (१) बाट भारी मतले निर्वाचित भएका थिए । उनले त्यति बेला मधेश प्रदेशका बहालवाला अर्थमन्त्री तथा प्रवक्ता समेत रहेका शैलेन्द्र प्रसाद साहलाई फराकिलो मतान्तरले पराजित गरेर प्रदेश सभाको यात्रा सुरु गरेका थिए ।

राजपा भित्रको आन्तरिक द्वन्द्व र अन्य केही विषयमा असन्तुष्ट बनेका सिंह मनोनयन पत्र दर्ताको २ महिना अघिमात्र जनमत पार्टीमा प्रवेश गरी प्रदेश सभा सदस्यको प्रत्याशी बन्ने अवसर प्राप्त गरेका थिए । उक्त निर्वाचनमा उनले १६ हजार ७ सय ३४ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार शैलेन्द्र प्रसाद साहले ८ हजार २ सय ९२ मत मात्र ल्याएका थिए । सिंहले शुक्रवार नै मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिँदै पदभार ग्रहण गरेका छन् ।

Comment


Related News

Latest News

Trending News