अपडेट 
२०८१ जेष्ठ २६, शनिबार ०७:०२

शुक्रवार जनमत पार्टीका सतीशकुमार सिंह मुख्यमन्त्री नियुक्त भए संगै साढे ६ वर्षदेखि मधेश प्रदेश सरकार हांक्दै आएका जनता समाजवादी पार्टी (जसपा) नेपाल मुख्यमन्त्रीबाट मात्र होईन, शासन सत्ताबाट पनि बाहिरिएको छ ।

सिंह मधेशका तेस्रो मुख्यमन्त्री भए पनि २०७९ साल मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन यता मुलुकका ७ प्रदेशमा २१ पटक मुख्यमन्त्री परिवर्तन भई सकेका छन् भने सातै प्रदेशका मुख्यमन्त्रीहरुले २३ पटक विश्वासको मत लिएका छन् । निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव एक्लैले पछिल्लो १८ महिनामा ५ पटक विश्वासको मत लिएका थिए । संघीय सत्तागठबन्धन तेस्रो पटक परिवर्तन हुँदा केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत सामाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितका दलहरुको समर्थनमा सरकार गठन भएको थियो ।

जसपा नेपाल सत्ता गठबन्धनबाट अलग भएपछि यसको पराकम्प मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश सरकारमा पर्नु स्वाभाविक थियो । प¥यो पनि । अब जनमतको नेतृत्वमा बनेको नयाँ गठबन्धनको हातमा सत्ताको साँचो आएको छ । संविधानले निर्दिष्ट गरे अनुसार जेठ १५ गते संघीय सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरिसकेको छ । प्रदेश सरकारहरुले पनि यस महिनाको मसान्त सम्म प्रदेशको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने छ तर प्रदेशको विकास निर्माण र सुशासनको मार्ग चित्र कोर्नु पर्ने बजेट अधिवेशन अचेल सरकार बनाउँने र भत्काउँने क्रिडास्थल बनेको छ ।

संघीय सरकार र शीर्ष नेताहरुको निगाहमा चलेको संघीयता माथि प्रश्न तेर्साउनेहरुलाई सजिलो हुने गरी पछिल्ला डेढ वर्षमा भएका गतिविधि वास्तवमै संघीयताको मर्म विपरीत छ । कारण सत्ता समीकरण बन्दा वा भत्किदा शीर्षनेताहरुले ठोस कारण बताउन सकेका छैनन् । संघीय सत्तालाई टिकाई राख्न जस्तो सुकै प्राकृतिक र अप्राकृतिक गठबन्धन गरेका छन् । जसको पराकम्प प्रदेश सरकारहरुले भोग्नु परेको छ । निसन्देह यो संघीयताको मर्म विपरीत हो । फगत सरकारलाई निरन्तरता दिन वा मन्त्री बन्नकै लागि खेलिने यो खेलले संघीयता विरोधीहरुलाई मसला दिएकै हो । ल भन्नौन– जसपा, नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार विस्थापित गरी, सतीशकुमार सिंह नेतृत्वमा नयाँ सरकार गठन हुनुको कारण जसपा, नेपाल संघीय सरकारबाट हट्नु वा हटाईनु होईन ? निवर्तमान मुख्यमन्त्री यादवको कामकारवाही माथि सवाल उठाइएको हो ? उनको कार्यशैली वा उनी माथि कुनै आरोप लगाइएको हो ? उनलाई मुख्यमन्त्रीबाट हट्नु परेको एउटै कारण हो संघीय सत्तागठबन्धनमा भएको परिवर्तन ।

मुख्यमन्त्रीको कार्यशैली माथि प्रश्न उठाएर बहुमत प्रदेशसभा सदस्यले कुनै मुख्यमन्त्रीलाई हटाउनु तर्क संगत हुन सक्छ । संघीय सत्तागठबन्धनमा भएको परिवर्तनको कारण प्रदेशको नेतृत्व परिवर्तन गरिनु संघीयताको मर्म विपरीत हो । भारतमा भर्खरै लोकसभा(संघीय सांसद)को निर्वाचन सम्पन्न भएको छ । आइतबार नरेन्द्र मादी तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिदैछन् । एनडीए गठबन्धनमा रहेका विहारका मुख्यमन्त्री नितिशकुमार नेतृत्वको जनता दल युनाईटेड, चन्द्रबाबू नाइडु नेतृत्वको तेलगु देशम पार्टी तथा चिराग पासमान नेतृत्वको पार्टी सत्ता साझेदार बन्दै छन् । तर संघीय सरकारमा सहभागी हुनु पूर्व नितिशकुमार, चिराग पासमान र चन्द्रबाबू नायडुले सत्ता गठबन्धनमा जमिनि यथार्थ संग सम्बन्धित प्रश्नहरु राखेका छन् ।

आँखा चिम्लेर समर्थन गरेका छैनन् । नितिशकुमार र नायडुले संघीय मन्त्री मण्डलमा सहभागिता मात्र खोजेका छैनन् अ–आफ्नो प्रदेशलाई विशेष राज्यको मान्यता पनि खोजेका छन् । अझ नितिशकुमारले सेना भर्ना सम्बन्धि पछिल्लो मोदी सरकारले ल्याएको अग्निवीर योजनाको समीक्षा, जातीय जनगणना आदि विषयलाई सम्वोधन गर्नु पर्ने माग गरेकाछन् । यहाँ भन्न के खोजिएको हो भने एनडीए नामक एउटै छातामुनि चुनाव लडेर लोक सभा पुगेका फरक फरक राज्यका नेताहरुले अ–आफ्नो राज्य र राज्यका जनताको विकास र हितका लागि संघीय सत्ता साझेदारसंग मोल मोलाई गर्दै छ तर दुर्भाग्य घरि जसपा त घरी जनमत त घरि लोकतान्त्रिक समाजवादी पार्टी संघीय सरकारमा सहभागी हुन्छ तर मधेश र मधेशीको हकहित बारे चुई बोल्दैन ।

को हुन मुख्यमन्त्री सिंह?

संघीयता, पहिचान र गणतन्त्रान्त्रिक आन्दोलनका शिखर पुरुष श्रद्धेय रामराजा प्रसाद सिंह र गजेन्द्रनारायण सिंहको माटोसंग प्रत्यक्ष सम्बद्ध सतीशकुमार सिंहको राजनीति पनि संघीयता र पहिचानकै खोजीमा सुरु भएको थियो । सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का स्थायी निवासी ४२ वर्षीय सिंहकाबुबा शेखर कुमार सिंह लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रिय सभामा सदस्य छन् ।

२०७४ को स्थानीय निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पुनः अध्यक्षको उम्मेदवार बने पनि उनी पराजित भएका थिए अनि जनमतको गाडीमा सवार भई सप्तरी २(१)का प्रदेश सांसदमा नियुक्त भएका थिए । व्यापारी पृष्टभूमिका सिंहलाई जनमुखी नीति तथा कार्यक्रम एवं बजेट ल्याउने कार्यभार छ । त्यसपछि प्रदेशको विकास निर्माण, शिक्षा, स्वास्थ्य उनको प्राथमिकता हुनु पर्ने हो । अहिलेलाई मुख्यमन्त्री सतीशकुमार सिंहलाई बधाई तथा शुभकामना । बाँकी उहाँको कामले निर्धारण गर्ने छ । पुनःशुभकामना ।

Comment


Related News

Latest News

Trending News