अपडेट 
२०८१ जेष्ठ २७, आईतवार ०८:००

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय सदस्य गजेन्द्र मण्डलले शनिबार पार्टी परित्याग गरेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी ४७ वर्षीय मण्डलले अध्यक्ष महन्थ ठाकुरलाई पठाएको राजिनामा पत्रमा नेतृत्वमाथि मधेशका जनताको भावना अनुसार पार्टी चलाउन नसकेको प्रमुख आरोप लगाएका छन् । उनले केन्द्रीय समिति विस्तारमा सन्तुलन मिलाउन नसकेको, अधिवेशन गराउन नसकेको, गुटबन्दी र चाप्लुसीको भरमा पार्टी चलेको, जनताको एजेन्डालाई थाम्न नसकेको, गन्तव्यतर्फ अगाडि बढ्न नसकेको, जनताले दिएको अभिमत र समर्थनलाई सत्ता सहभागिताको जोड घटाउमा मात्र प्रयोग गर्ने गरेको तथा संगठन निर्माण र विस्तारका लागि कुनै ठोस योजनाहरू ल्याउन नसकेको लगायतका दर्जनौं आरोप र गुनासा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले नेतृत्ववर्गको गलत निर्णयहरूका कारण मधेश आन्दोलनका अगुवाहरूमा निराशा छाएको समेत राजीनामा पत्रमा उल्लेख गरेका छन् । २०६४ सालमा तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सहमहासचिव सम्मको जिम्मेवारीमा रहेका उनी पछि ६ दल मिलेर बनेको राजपाको केन्द्रीय सहमहासचिव बनेका थिए ।

राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भई जनता समाजवादी पार्टी गठन भएपछि उनी केन्द्रीय सदस्य बनेका थिए । जसपा टुक्रिएपछि उनले ठाकुरको नेतृत्वमा बनेको लोसपा रोजेका थिए । मण्डलले आगामी राजनीतिक यात्राको निर्णय सम्पूर्ण साथीभाई, शुभचिन्तक र जनताको सल्लाह सुझावबाट केही दिनभित्रै तय गर्ने जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News