अपडेट 
२०८१ जेष्ठ २७, आईतवार १७:५४

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजन सम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरु हरि फुयाल र तिलप्राद श्रेष्ठको इजलासले आइतबार मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

२३ वैशाखमा जसपा नेपालका ७ संघीय सांसद सहितका नेताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले २४ वैशाखमा नै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी नाममा नयाँ दल दर्ता गरेको थियो । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका नेताहरुले दिएको निवेदनका आधारमा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय संविधान र कानुन विपरीत भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

आफ्नो दलबाट फुटेर गएका ७ सांसदलाई प्रतिनिधिसभा सदस्यको हैसियतमा कामकाज गर्नबाट रोक लगाउन माग गर्दै यादवले अर्को रिट दर्ता गरेका थिए ।

सर्वोच्चले दुबै मुद्दालाई साथै राखेर आइतबार दुई न्यायाधीशको इजलासमा सुनुवाइ गरेको थियो । तर इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । अब यो मुद्दा कम्तीमा ३ न्यायाधीश रहेको इजलासमा सुनुवाइ हुनेछ ।

Comment


Related News

Latest News

Trending News