अपडेट 
२०८१ जेष्ठ २८, सोमबार ०७:२०

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव रुपेशकुमार साहलाई बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका– ४ स्थित तेनुवापट्टीका ४८ वर्षीय रुपेशकुमार साहमाथि पीडित महिलाले जबर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएको करिब डेढ महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । धनुषा प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आवश्यक जानकारी सोमबार प्रहरी कार्यालयमै दिने भन्दै घुमाउरो पारामा पक्राउ गरेको स्वीकारे ।

प्रहरी उपरीक्षक तिवारीले वरिष्ठ उपसचिव साहका बारेमा अहिले नै भन्न नमिल्ने भनेर प्रहरी कार्यालयमै आएर आवश्यक जानकारी दिन मिल्ने भने । प्रहरी उपरीक्षक तिवारीले भने, ‘वरिष्ठ उपसचिव साह पक्राउ परेको बारेमा आवश्यक जानकारी लिनका लागि तपाई प्रहरी कार्यालयमा भेट्नुस्, साहको बारेमा दिनुपर्ने आवश्यक सूचना जानकारी गराइने छ ।’ तर जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा रेकर्ड अनुसार साह शनिवार नै पक्राउ परेका छन् ।

उनी शनिवारदेखि नै जिल्ला प्रहरी कार्यालयको थुनुवा सूचीमा रहेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् । तर साह निकट स्रोतहरुले उनी स्वयं आत्मसमर्पण गरेको जनाएका छन् । उनी शनिवार जिल्ला प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । तर प्रहरीले यस सम्बन्धमा विस्तृत खुलाउन चाहेन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव साहमाथि उनीसंगै बस्दै आएका पुरुष सहकर्मीका श्रीमतीलाई डर, त्रास र धम्की देखाउँदै पटक– पटक बलात्कार गरेको आरोप छ ।

उनीमाथि बलात्कारको आरोप लागेसंगै साह दुई महिनादेखि कार्यालयमा समेत आउन छाडेका थिए । आरोपित साहमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कारको मुद्दा दर्ता भएको डेढ महिनामा पक्राउ परेका छन् । आरोपित साहमाथि बलात्कारको मुद्दा दर्ता भएपछि खोजी कार्यमा प्रहरी तीव्ररुपमा लागिपरेका थिए ।

वरिष्ठ उपसचिव साहले गत माघ १८ गते मधेश प्रदेश सरकारको कर्मचारी आवासको एउटै तल्लामा बस्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा कार्यरत अधिकृत घरमा नभएको मौका छोपी भगवानको प्रसादमै नसालु पदार्थ मिसावट गरी बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । भगवानको प्रसाद भन्दै नसालु पदार्थ मिसावट गरी खान दिएको र त्यसपछि बेहोस अवस्थामा आफूलाई बलात्कार गरेको महिलाले दिएको जाहेरीमा लेखिएको छ ।

पीडित महिलाले गत चैत ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीमा आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन् । उनले दिएको सो मुद्दा २०८१ वैशाख ३ गते दर्ता गरिएको थियो । आरोपित वरिष्ठ उपसचिव साहले घटनाकै क्रममा भिडियो फोटोसमेत खिचेर सो सामग्री अरूलाई देखाइदिने भन्दै डर धम्कीसमेत दिने गरेको र सो सामग्रीको नाममा ब्लैकमेल गर्दै पटक– पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । मधेश भवनको परिसरमा रहेको आवासमा साह र पीडित बस्दै आएका थिए ।

पीडितका श्रीमान् नभएको बेलामा वरिष्ठ उपसचिव साह साथीको नाताले कोठामै आउने र टिभी हेर्ने गरेको सो जाहेरीमा लेखिएको छ । जबरजस्ती करणीबाट आफू गर्भवती भएको पीडितले दिएको जाहेरीमा किटान गरेकी छन् । ‘एसिड हालेर अनुहार बिगारिदिने र ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि उसको ज्यादती सहन बाध्य भएँ ’ जाहेरीमा अगाडि भनिएको छ , जबर्जस्ती करणीले गर्भमा बच्चासमेत बसेको छ । त्यो बच्चा फाल्नुप¥यो भन्दै दबाब दिएपछि श्रीमानलाई सबै जानकारी गराए। अनि, न्यायका लागि उजुरी गरेकी हुँ, ।’

यस विषयलाई लिएर उपसचिव साह र पीडितका श्रीमान्बीच सरकारी निवासमै कुटाकुटसमेत भएको थियो । मधेश भवनमै कयौंपटक झगडा र कुटाकुट भएपछि उपसचिव साह बिदामा बसेका थिए । बिदामै बसेको बेला उनीविरूद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।

Comment


Related News

Latest News

Trending News