अपडेट 
२०८१ जेष्ठ २८, सोमबार २१:२०

विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित १० जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । उनीहरूको हकमा कसुर ठहर गरेको छ भने सजाय निर्धारण पछि गर्ने छ । विशेषले ६ जनाको हकमा कैद असार ३ गते निर्धारण हुने फैसलामा उल्लेख गरेको छ ।

विशेषले  हरिनारायण मिश्रलाई १ करोड २५ लाख ११ हजार ९९ रुपैयाँ बिगो र जरिवाना तोकेको छ । त्यस्तै भूपबहादुर बोगटीलाई पनि सोही बराबर बिगो र जरिवाना हुने ठहर गरेको छ ।

त्यस्तै गोपाल ढुङ्गानालाई ३५ लाख ४५ हजार ९ सय ५०, पदमबहादुर अर्याललाई १६ लाख ८१ हजार ६सय ,कुमोद तिवारी र किरण उपाध्यायलाई  जनही १ करोड २५ लाख ११ हजार ९९ रुपैयाँ बिगो र जरिवाना हुने ठहर गरेको छ । उनीहरूको हकमा कैद सजाय भने असार ५ गतेमात्र तोकिने छ ।

विशेषले प्रतिवादी चन्द्रबहादुर भण्डारीलाई ४ लाख ८८ हजार ९ सय २५ रुपैयाँ बिगो र सोही बराबर जरिवाना तथा ६ महिना कैद हुने फैसला सुनाएको छ । मृत्यु भएका एक प्रतिवादी किरण उपाध्यायको हकमा उनीहरूको छोराबाट दामाशाही असुल उपर हुने फैसलामा उल्लेख छ ।

आयोगले मालपोत कार्यालयको राजश्व दुरुपयोग गरेको अभियोगमा अधिकृत मिश्रसमेत १० जनाविरुद्ध २०८० कात्तिक २० गते मुद्दा दायर गरेको थियो ।

मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।

आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रविरुद्ध दुई करोड नौ लाख ३१ हजार ६ सय ४७ बिगो दाबी गरेको थियो  ।

यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार नौ सय ५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६ सय बराबरको बिगो र कैदको माग दाबी गरेको  थियो ।

यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार चार सय ६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ एक सय ७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ बराबरको बिगो र कैद दाबी गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News