२०८१ जेष्ठ २९, मंगलवार १४:३६

मध्य र पश्चिम तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावाको लहर चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आउँदो पर्सि ३१ गते बिहीवारसम्म मध्य र पश्चिम तराईका जिल्लामा तातो हावा र तातो हलर चल्ने सक्ने चेतावनी दिएको हो । यी क्षेत्रमा अत्यधिक गर्मीकाे सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार मध्य र पश्चिम तराईका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ । पूर्वी क्षेत्रसहित बाग्मती, मधेश प्रदेशका जिल्लाको तापक्रम भने कम छ । अत्यधिक गर्मीका कारण तराई, मधेशसहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

तातो हावाको लहरबाट हुने सम्भावित असरमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिने डाक्टरहरूले बताएका छन् ।

तातो हावाको लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ ।

Comment

Related News