अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार ०७:४०

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भए लगतै सबै उम्मेदवारलाई मनोनयन पत्र फिर्ता गराएका छन् ।

निर्विरोध भएका अध्यक्ष यादव र केही सदस्य बाहेकका पदहरुमा मतदानको समय मध्यान्ह १२ बजे निर्धारण गरिएको थियो ।उम्मेदवारहरुले गर्मीको बेवास्ता गर्दै प्रचारप्रसारमा जुटेका थिए । अध्यक्ष यादवलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रममा सहभागी उम्मेदवारहरुले मतदान नगराइ सदस्य र पदाधिकारीहरु चयन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिने प्रस्ताव पास गरे । उनीहरुले दिएका उम्मेदवारीसमेत फिर्ता लिएको घोषणा गरे । उम्मेदवारहरुले सम्पूर्ण अधिकार अध्यक्षलाई दिएकाले २ सय १ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष र निर्विरोध निर्वाचित सदस्य बाहेकको चयन अध्यक्ष यादवले गर्ने छन् ।

निर्धारित समय भन्दा चुनावकै लागि एकदिन लम्बिएको महाधिवेशनले अन्ततःसवै अधिकार अध्यक्षलाई जिम्मा लगाउँदै सम्पन्न भएको छ । कतिपय उम्मेदवारले मतदान सुरु हुने बखत उम्मेदवारी फिर्ता गराउने निर्णय गर्नु भन्दा बुधवार नै गरेको भए ठूलो आर्थिक क्षतिबाट जोगिन सकिने टिप्पणी गरेका छन् ।

केन्द्रीय समिति गठन गर्ने सर्वाधिकार अध्यक्ष उपेन्द्र यादवले लिएपछि पार्टी विभाजन गरी जनता समाजवादी पार्टीको सहअध्यक्ष बनेकी रेणु यादवले सामाजिक सञ्जालमा कडा आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्–‘ये तो होना हीं था । मैं जो करता हुँ वही लोकतन्त्र है, मै जो बोलता हुँ वही लोकतन्त्र है । मैं जो सुनाता हुँ वही लोकतन्त्र है। क्यों कि मै हीं प्रनेता हुँ,नेता हुँ ।’ अध्यक्ष सर्वसम्मत भएदेखि नै चुनाव हुनेमा धेरैको आशंका थियो । तैपनि बिहीबार चुनावी माहोल बनेको थियो ।

चुनाव प्रचारको क्रममा बुधवार रातिदेखि बिहीबार मध्यान्हसम्म उम्मेदवार हरुले सम्पूर्ण ताकत लगाएका थिए । उम्मेदवारी फिर्ताबाट पदाधिकारीमा चुनाव लडेकाहरुमध्ये अधिकांश निराश देखिएका छन् । ‘अन्तिम समयमा उम्मेदवारी फिर्ता गराउनु लोकतान्त्रिक विधि र प्रकृयाको उपहास भएको छ’ पदाधिकारीमा चुनाव लडेका एकजना उम्मेदवारले नाम सार्वजनिक नगर्ने शर्तमा भने–‘झण्डै १ सय ९० जना टीकाबाट नै केन्द्रीय समितिमा पुग्ने छन् ।’ तर कतिपयले चुनाव भएको खण्डमा पार्टी समावेशी हुन नसक्ने देखिएपछि अन्तिम समयमा सर्वाधिकार अध्यक्ष यादवले लिएको तर्क गरेका छन् ।

स्रोतहरुका अनुसार अध्यक्ष यादवले आफ् नो उत्तराधिकारी सहअध्यक्षमा रकम चेम्जोंगलाई चयन गर्ने छन् । मतदान हुँदा राजकिशोर यादव सहअध्यक्षमा जित्ने निश्चित थियो । पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई उपाध्यक्षमा ल्याइने तयारी भएको छ । उपाध्क्षमा गोविन्द चौधरी, मृगेन्द्र कुमार सिंह यादव र अर्जुन थापालाई राखिने स्रोतले जनाएका छन् । स्रोतका अनुसार महिला उपाध्यक्षमा लिला देवी सिटौलाको छनोट हुने बलियो संभावना रहेको छ । खुल्ला तर्फ १७ जना र महिला तर्फ ६ जनाले उम्मेदवारी दिएका थिए । दुई जना महासचिवमा रामकुमार शर्मा पक्का रहेका छन् । दीपक कार्की र प्रकाश अधिकारी मध्ये एकजना हुनेछन् । अधिकारी र कार्कीले भने उम्मेदवारी दिएका थिएनन् ।

उपमहासचिवमा डा.सुरेन्द्र यादव र जयप्रकाश राई समावेशीमा पर्ने संभावना छ । महिला उपमहासचिवमा निर्मला यादव उपयुक्त मानिए पनि सीता कुमारी यादवको संभावना पनि बलियो छ । ७ जना सचिवमा सरोज सिंह कुशवाहा, रामकुमार मण्डल, चन्देश्वर पासमान, रमेश चन्द्र प्रधान, मनिष सुमन, राजकुमार गुप्ता र रामबाबु कुमार यादवको सम्भावना रहेको छ । त्यसैगरि महिला सचिवमा सुरिता कुमारी साहको बलियो सम्भावना छ । कोषाध्पक्षमा विजय यादव दोहोरिने सम्भावना छ ।उनी लामो समयदेखि पार्टीको कोषाध्यक्ष र अर्थविभाग सम्हाल्दै आएका छन् । पदाधिकारीमा उम्मेदवारी दिनेहरु केन्द्रीय सदस्यमा समेटिने छन् ।

पदाधिकारीमा नपरेका ११ जनालाई कार्यकारिणी समितिमा लगिने छ । पार्टीको विधान अनुसार २० जना पदाधिकारीसहित केन्द्रीय समितिबाट मनोनित ११ जना गरी ३१ जनाको कार्यकारिणी समिति रहेको छ ।

Comment


Related News

Latest News

Trending News