अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार ०८:०१

काम गरेको भुक्तानी उपलब्ध गराउन माग राख्दै निर्माण व्यवसायीहरुले बिहीबार राजविराज स्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ताला लगाएका छन् ।

निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष सतीषचन्द्र झाको अगुवाईमा बिहीबार ११ बजे कार्यालमा पुगेका निर्माण व्यवसायीहरुको टोलीले ताला लगाएका छन् । कार्यालय परिसरमा निर्माण भइरहेको नयाँ कार्यालय भवनको रनिङ्ग बिल लामो समयसम्म ठेकेदार कम्पनीले पाउन नसकेको र कार्यालय प्रमुखले विभिन्न बहानामा आलटाल गर्ने गरेकोले तालाबन्दी गर्नु परेको निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष झाको भनाइ छ । उनले यसबारे तीन दिन अघि नै सम्बन्धित निकायलाई जानकारी गराइसकेको तर, कतैबाट चासो नदेखाएकाले अनिश्चितकालीन तालाबन्दी गरिएको बताए ।

उक्त कार्यालयको भवन निर्माणको ठेक्का पाएका राधा कृष्ण निर्माण सेवाका प्रतिनिधि विनोद साफीले काम गरेको बिलको भुक्तानी समयमा नपाउँदा भवनको बाँकी काम रोकिनुका साथै आपूmहरु समस्यामा परेको बताए । उनले २०७९ माघ २२ गते पिपिएमओले कार्यालय भवन निर्माणका लागि इविडिङ्ग मार्फत आपूmलाई ४ करोड १६ लाख ६० हजार ५ सय १० रुपैयाँमा ठेक्का दिएको बताए ।

ठेक्का सम्झौता अनुसार २०८१ असार १५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । तर, हालसम्म गरेको काम अनुसारको बिलको झुक्तानी नपाउँदा समस्यामा परेको उनको भनाइ छ । उनले हाल सम्म काम सम्पन्न गरेको ६६ लाख २६ हजार ५ सय रुपैयाँको भुक्तानीका लागि गत असोज ३० गते नै सबै कागजात पेश गरिसके भएपनि विभिन्न बहानामा कार्यालय प्रमुख र लेखापालले आलटाल गर्दै आएको गुनासो पोखे ।

बिल भुक्तानी नपाउँदा एकातिर निर्माण कार्य रोकिएको छ भने अर्काे तिर उधारोमा ल्याएको निर्माण सामग्री पसलेहरुको गाली बेइज्जत सहेर बस्नु परेको उनको भनाई छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका प्रमुख डा.राम पवित्र दासले भवन निर्माण प्रक्रियाको विषयलाई लिएर जिल्ला कै अर्का प्रतिस्पर्धी निर्माण कम्पनी श्री राम निर्माण सेवाले अख्तियारमा उजुरी दिएको बताए ।

अख्तियारमा उजुरी परिसकेपछि भुक्तानी दिए आपूm पनि फसिने डरले लेखापालले चेक बनाउन नमानेकाले भुक्तानीमा समस्या भएको उनको कथन छ । यद्यपि समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले बताए । यता निर्माण व्यवसायीहरुले कार्यालयमा तालाबन्दी गरेपछि कार्यालयबाट प्रवाह हुने सबै सेवा ठप्प भएको छ ।

स्थानीयले ठेकेदार कम्पनीद्वारा हाल सम्म भए÷गरेको निर्माण कार्यको प्राविधिकबाट चेक जाँच मुल्याङ्कन गराई ठेकेदार कम्पनीले पाउनु पर्ने उचित रकम भुक्तानी गरी कार्यालयको ठप्प भएको सेवा सुचारु गर्न माग गरेका छन् । यस्तै आवश्यक बजेटको व्यवस्था गरी अधुरो अवस्थामा छाडिएको कार्यालयको नयाँ भवनको निर्माण कार्य अविलम्ब सुरु गर्न माग स्थानीयले गरेका छन् ।

Comment


Related News

Latest News

Trending News