अपडेट 
२०८१ असार १, शनिबार ०६:३७

बारा जिल्लाको कलैयामा अवस्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रिन्सिपल हरिभूषण कुशवाहाको शुक्रवार साँझ गोली हानी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले जनाए अनुसार गोली लागेर घाइते भएका कुशवाहाको उपचारको क्रममा राति करिब सवा ७ बजे वीरगञ्जस्थित बयोद्धा अस्पतालमा मृत्यु भएको छ । आदर्श कोतवाल नगरपालिका वडा नम्बर २ खजुरिया टोल घर भएका ४५ वर्षीय कुशवाहा मोटरसाइकल चढेर कलैया तर्फ आइरहेको बेला अज्ञात समुहले सो ही पालिकाको वडा नम्बर ३ बतराको लंगहासनमाई मन्दिर अगाडि गोली प्रहार गरेका थिए ।

२ वटा मोटरसाइकलमा सवार चार जना अपराधीहरुले कुशवाहाको बाटो छेकी कोखामा १ राउन्ड गोलीप्रहार गरी भागेका थिए । दाहिने कोखामा गोली लागेका कुशवाहालाई उपचारका लागि तत्काल वीरगञ्जस्थित बयोद्धा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक कुशवाहाको ५ वर्षीय एउटा छोरा र श्रीमती रहेका छन । साँझ करिब साढे ५ बजे कुशवाहामाथि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी महेन्द्र खड् काले जनाएका छन् । घटनाको कारण पत्ता लगाउने र हत्यामा संलग्न संदिग्ध व्यक्तिहरुको व्यापक खोजी भइरहेको उनले बताएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २ जना स्थानीयलाई नियन्त्रणमा लिएकोछ । अनुसन्धानको क्रममा केही मानिसलाई नियन्त्रणमा लिएको बताउँदै उनले चाँडै हत्यामा संलग्न अपराधी सम्म प्रहरी पुग्ने दावी गरेका छन् । कुशवाहाको हत्यामा संलग्न रहेको शिवेन्द्र कुशावाहा पनि संदिग्धहरुको सूचीमा रहेको स्रोतहरुले जनाएका छन् ।

तर प्रहरीले उनलाई नियन्त्रणमा नलिएको एसपी खड्काले बताए । गतवर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कूलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । त्यसको वर्ष दिन नबित्दै रामराजा क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहारगरी हत्या गरिएको छ ।

Comment


Related News

Latest News

Trending News