अपडेट 
२०८१ असार १, शनिबार ०६:४९

विहानै एक जना आफन्त घरमै भेंट्न आउनु भयो । सत्तरी कटेका सधैं हँसिलो मुद्रामा प्रस्तुत हुने उहाको अनुहार आज मलिन थियो । निधारमा चिन्ता, ग्लानी र भयको रेखा प्रष्ट हेर्न सकिन्थ्यो । भलाकुसारीसमेत न गरी उहाँले सीधा प्रश्न गर्नुभयो–‘बौवा कोनो सुधार केन्द्र बालाके चिन्है छहो ?

दश वर्ष अघि ‘नातीलाई राम्रो बोर्डिङ स्कूलमा नाम लेखाई देउ बौवा ।’ भन्दै प्रशन्न मुद्रामा भेंटन् आएका यि सज्जनले आज सोधेको यस प्रश्नले मलाई मर्माहत बनायो । असीम पीडा भयो । किन? के भो ? किन चाहियो सुधार केन्द्र ? मैले प्रतिप्रश्न गरे ।

गहभरि आँसु काढ्दै उहाँले जवाफ फर्काउनु भयो–‘बौवा…मझिलाके बेटा बिगरि गेलै । पहिने सिकरेट पिऐ… तब सिकरेटमे गाँजा भरि कऽ पिय लगलै आ आब त ओहि पार जाकऽ’ टेबलेट आ सीसी पियलागल है …. सुधार केन्द्रमे रखबादहौ बौवा । नहि त छौडा हमरो सुनके मारि देत आ अपनो मरि जैतै ।’ जनताको हितमा कानुन बनाउँने जनताका प्रतिनिधिहरुको माथिल्लो निकाय प्रतिनिधि सभामा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा गम्भीर छलफल भइरहेको छ ।

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्तुत भइरहेको छ तर तल मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक भुई मान्छे गाँजाका अम्मली छोरा–नातीका लागि सुधार केन्द्र खोजी रहेकाछन् । कस्तो बिडम्बना ! माननीयज्युहरु गाँजामा औषधीय गुण देख्नु हुन्छ । अर्बौ खर्वौको व्यापार देख्नु हुन्छ अनि भुई मान्छेहरु छोर ा–नातीलाई स्कूल–कलेजको होस्टल चहार्नुको सट्टा सफा, सस्तो र ग्यारेन्टी बाला सुधार केन्द्र खोजी रहेका छन् ।

पञ्चदेवोपासकहरुको बाहुल्यता रहेको मैथिल समाजमा भगवान शिवका अनुयायीहरुको संख्या उल्लेख्य छ । शिवको बुटीको रुपमा भांग र गाँजाको प्रयोग नभएको पनि होईन तर पछिल्लो समय किशोर र युवा वर्गमा गाँजा, भाँग र नारकोटिक औषधी प्रतिको आकर्षण र प्रयोग कहाली लाग्दो छ । प्रतिनिधि सभाले कुनै कानुन बनाउँदा ग्राउण्ड जीरोको यथार्थ बुझ्नै पर्ने हो । जर्मनीले हालै गाँजा खुला गरेको छ । प्रत्येक जर्मन नागरिकले प्रति व्यक्ति तीनवटा गाँजाका बिरुवा रोप्न सक्ने साथै सामाजिक क्लबबाट सदस्यता लिएका व्यक्तिले २५ ग्राम दैनिक खरिद गर्न सक्ने र महिनाको ५० ग्राम राख्न सक्ने भनि कानुननै लागु गरेको अवस्था छ ।

क्यानडा, जर्जिया, लक्जमबर्ग, माल्टा, मेक्सिको, दक्षिण अफ्रिका, थाइल्यान्ड र उरुग्वे लगायतका २३ देश गाँजालाई विविध उद्देश्यले खुला गरेको छ । असलमा सन् २०२० मा संयुक्त राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पतिको श्रेणीमा वर्गीकरण गर्दै ‘ हानिकारक’ समूहबाट हटाएपछि विश्वभर गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने, उत्पादन र प्रयोग गर्ने विषयमा वहस तथा छलफल सुरु भएको हो । सन् १९७६ भन्दा अघि सम्म नेपालमा पनि गाँजा खेती र व्यापार वैधानिक थियो । अनेकौ किसान विधिवत लायसेन्स लिएर गाँजा खेती गर्थे । संयुक्त राष्ट्रसंघले सन् १९६१ मा‘ द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स– १९६१’ पारित गरेर गाँजालाई हफिम जस्तै कडा खालको लागू औषधिको श्रेणीमा राखेको थियो ।

नेपाल पक्ष राष्ट्रको रुपमा सन् १९७६ मा यस सन्धीमा हस्ताक्षर गरेपछि गाँजा खेती माथि प्रतिवन्ध लगाइएको थियो । नेपाल सरकार आर्थिक वर्ष ०८०/८१ को बजेटमा औषधि जन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरको थियो । आर्थिक वर्ष २०८१/०८२ मा पनि यस कार्यक्रमलाई निरन्तरता दिएको छ । संसदमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक’ पनि प्रस्ताव गरिएको छ । यस सम्बन्धमा अध्ययन गरी यथाशीघ्र कानुन निर्माण गर्ने नेपाल सरकारका सरोकार बाला मन्त्रीहरु नै बताउँन थालेका छन् । गाँजा खेती माथि रोक लगाइएको वेला पनि नेपालमा गाँजा खेती र बिक्री वितरण कहिल्यै रोकिएन् ।

मध्य पहाडमा उत्पादन भएको गाँजा सीमावर्ती नेपाली क्षेत्रको मात्र नभई भारतीय बाजार समेतको मांगलाई पूर्ति गरिरह्यो । यस अर्थमा सरकारलाई जानकारी र राजस्व नै नदिई उत्पादन हँुंदै आएको गाँजा खेतीलाई कानुन बनाएर वैधानिकता दिनु अनुचित होईन् । तर सरकारले गाँजा खेतीको सम्भावना, बाजार तथा यसको प्रयोगबारे प्रष्ट नीति बनाउँनु पर्दछ । प्रतिवन्धित भएको कारण गाँजाको उत्पादन न्यून छ । बिक्री वितरणमा रोक लगाइएको कारण खरिद गर्न मुस्किल छ ।

मांगको अनुपातमा आपूर्ति थोरै भएको कारण मंहगो पनि छ । अर्थात् न्यून आय वर्गका तथा अभिभावकले पोकेट खर्चबाट गाँजा खरिद गर्ने किशोर र युवाहरु पैसा जोगाएर मात्र गाँजा खरिद गर्छन । र पनि मधेशमा गाँजा अम्मलीहरुको संख्या निरन्तर बढदै छ । गाँजा खेती खुल्ला भएपछि, बिक्री वितरण सुलभ भएपछि यसको प्रयोगकर्ताको संख्यामा बृद्धि हुने पक्का हो ।

अतः तीनै तहको सरकारले गाँजा खेतीलाई वैधानिकता दिनु भन्दा पहिले किशोर र युवाहरुको भविष्यलाई ध्यानदिनु पर्दछ भने मेरो व्यक्तिगत विचार छ । मधेशबाट जितेर गएका सांसद ज्यूहरु यस विषयलाई गम्भिरता पूर्वक लिनु होला भने सल्लाह छ ।

Comment


Related News

Latest News

Trending News