अपडेट 
२०८१ असार २, आईतवार ०७:३०

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि मधेश प्रदेशको ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट बिनियोजन गरिएको छ ।

मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले चालु खर्च तर्फ १६ अर्ब, ७ लाख १ हजार र पूँजीगत खर्च तर्फ २७ अर्ब ८९ करोड, १४ लाख ६९ हजार रकम बिनियोजन गरेका छन् ।पूँजीगत तर्फ कुल बजेटको ६३ दशमलव ५५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको कुल बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रहेको थियो । तर आगामी आर्थिक वर्षमा संघीय सरकारले अनुदान कटौती गरेपछि बजेटको आकार घटेको अर्थमन्त्री साहले जनाए । प्रदेश सरकारले पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । भौतिक पूर्वाधार विकास निर्माण मन्त्रालयका लागि सर्वाधिक बजेट बिनियोजन गरिएको छ ।

भौतिक मन्त्रालयका लागि कुल १३ अर्ब, ११ करोड, ५२ लाख ७४ हजार रकम बिनियोजन गरिएको मन्त्री साहले जनाए । सबै भन्दा कम बजेट गृह, सञ्चार तथा कानुन मन्त्रालयका लागि बिनियोजन गरिएको छ । गृहमन्त्रालयका लागि ७७ करोड ५७ लाख ४ हजार मात्र विनियोजन गरिएको छ । त्यस मध्ये १२ करोड मधेश प्रदेश प्रहरीको प्रशासनिक भवन निर्माण र ८ करोड बारुणयन्त्र खरिदका लागि बिनियोजन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ५ अर्ब, २१ करोड, ६५ लाख ६ हजार बिनियोजन गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्न लागेको एमबीबीएस, बीडीएस लगायत स्नातक स्तरको अध्ययन अध्यापनका लागि विशेष बजेटको व्यवस्था गरिएको अर्थमन्त्री साहले बताएका छन् ।

मधेश प्रदेश सरकारले उर्जा, सिँचाई तथा खानेपानी तर्फ ५ अर्ब १७ करोड, ९६ लाख ४२ हजार बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा २ करोड चार्जिंग स्टेशनमा लगानी गरिने अर्थमन्त्री साहले जनाएका छन् । तर शिक्षामा बजेट कम गरिएको छ । शिक्षा तर्फ २ अर्ब ९० करोड, ५१ लाख ७६ हजार मात्र रहेको छ । जनमत पार्टीले शिक्षामा जोड दिदै आएको छ ।

शिक्षा मन्त्रालय एमालेको भागमा रहेको छ । बजेटमा मधेश विश्वविद्यालय वीरगञ्ज र मधेश कृषि विश्वविद्यालय राजविराजको नाम उल्लेख गरिएको छैन् । तर नमुना विद्यालय, मधेश प्रदेश संस्कृति प्रतिष्ठान र मधेश भाषाका लागि बजेट बिनियोजन गरिएको छ । जनमत पार्टीले मधेश प्रदेशको भाषा ‘मधेश भाषा’ हुनुपर्नेमा जोडदिँदै आएको छ ।

मधेशमा बोलिने भाषा मधेश भाषा रहेको जनमत पार्टीको कथन छ । कृषिलाई सरकारले प्राथमिकतामा राखेको छ । एक पालिका एक उत्पादनमा सरकारले जोड दिएको छ । आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयको कुल बजेट २ अर्ब ७९ करोड १९ लाख रहेको छ । कृषिलाई सरकारले मधेश प्रदेशको प्रगतिको मुख्य क्षेत्र मानेको छ ।

सरकारले कृषि सडक, कृषी लाइब्रेरी, बीउ बिजन लगायतलाई प्राथमिकतामा राखेको छ । पशुको नश्ल सुधारका लागि सरकारले बजेट बिनियोजन गरेको छ । अर्थ मन्त्री भरतप्रसाद साहले चुरे संरक्षण, पानी र पर्यावरण जोगाउन बजेटमा विशेष जोड दिएका छन् । उनले वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब, ४२ करोड, ४० लाख, २५ हजार रुपैया बजेट बिनियोजन गरेको छ । त्यसैगरि सरकारले आर्थिक वर्ष २०८१/०८२ मा पर्यटन प्रबद्र्धन गर्न पनि जोड दिएको छ । जानकी सर्किट लगायतका अन्य ४ वटा धार्मिक, सांस्कृतिक सर्किट निर्माण गरी मधेश प्रदेशको आठवटै जिल्लाका पर्यटकीय स्थलहरुलाई जोड्ने बजेटमा उल्लेख गरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको पोखरीहरुको सौन्दर्यकरणमा प्रदेश सरकारले जोड दिएको छ ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि २ अर्ब ९८ करोड, ५८ लाख २२ हजार रुपैयाँ बिनियोजन गरिएको छ । खेलकुद तथा सामाजिक मन्त्रालयका लागि सरकारले १ अर्ब ९५ करोड ८३ लाख ४६ हजार बजेट बिनियोजन गरिएको छ । बजेटमा जनमत लगायतका बिभिन्न दलहरु सम्बद्ध गैह्रसरकारी संस्थाहरु(एनजीओ) हरुको नाम उल्लेख गरी बजेट बिनियोजन गरिएको छ ।

सरकारले श्रम तथा यातायात मन्त्रालयका लािग ९९ करोड ९७ लाख ४८ हजार बजेट बिनियोजन गरिएको छ । सरकारले सीपमूलक तालिम र शिक्षामा जोड दिएको छ । अर्थमन्त्री साहले बजेट वाचन गर्न झण्डै १ घण्टा समय लिएका थिए । बजेट निर्धारित समय भन्दा पौने ४ घण्टा ढिलोगरि राती पौने ८ बजे प्रस्तुत भएको थियो ।

अर्थ मन्त्री साहले बजेट प्रस्तुत गरेपछि केही समयका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।त्यसपछि अर्थमन्त्री साहले आर्थिक वर्ष २०८१÷०८२ लागि आर्थिक ऐन प्रस्तुत गरेका थिए ।प्रदेश सभाले सो ऐन पारित गरेको छ ।

Comment


Related News

Latest News

Trending News