![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/06/mahato_okATCByQ8V.jpg)
राष्ट्रिय मुक्ति क्रान्तिले सर्लाहीमा ‘मधेशी– पहाडी एकता सभा’को आयोजना गरेको छ ।
मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना तथा पूर्व मन्त्री रामनरेश राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मधेश मुद्दालाई ओझेलमा पार्नका लागि राज्यले मधेश आन्दोलनलाई पहाडी विरुद्धको आन्दोलन भएको भ्रम फैलाएको दाबी गरे ।
यो भ्रमलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा पुरा गराउन मधेशी पहाडी एकता सभाको आयोजना आवश्यक रहेको बताउँदै उनले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले क्रान्ति गर्न आवश्यक रहेको बताए । अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरू अहिलेसम्म छुट्टाछुट्टै सङ्घर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए ।
आदिवासी जनजाति, मधेशी, उत्पीडित खस आर्य सबै मिली संघर्ष गर्नुको विकल्प नरहेको उनले बताए । मधेशमा तराई, पहाड, हिमाल सबै भूगोलका बासीहरू बस्ने भएकोले आपसी सद्भाव र सहअस्तित्व स्वीकार गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी, राजिव झा, बुद्धछिरिङ मोक्तान, जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान, हुसेन खान, विनोद साह, जीवन तामाङ, राजेश यादव लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
लालबन्दीको खेल मैदानबाट सुरु भएको ¥याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो । स्थानीय युवा नेता जिगमेला बमजनले कार्यक्रम सञ्चालन गरेका थिए ।