अपडेट 
२०८१ असार २, आईतवार १७:०१

ढल्केबर–भोक्राहा विद्युत् प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह परीक्षण शुरु भएको छ । ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा समाहित गर्न धनुषाको ढल्केबर सबस्टेशनबाट सुनसरीको भोक्राहामा रहेको सबस्टेशनसम्म डबल सर्किट प्रसारण लाइनबाट ४०० केभी क्षमताको विद्युत् प्रवाह गरी परीक्षण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा तथा खतरा सङ्केत जनाइएका वस्तुहरूलाई नछुन र आफ्ना बालबालिकालाई समेत सचेत गराउन अनुरोध गरेको छ । साथै परीक्षणका क्रममा कुनै ठाउँमा करेन्ट आएमा वा झिल्का देखिएमा तथा कुनै खतरा देखिएमा नजिकको प्रहरी चौकीमा वा नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा खबर गर्न प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाले निर्माण गरेको ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । अब परीक्षण गरेपछि प्रसारण लाइन सञ्चालनमा ल्याइने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनको रुटमा धनुषाको मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिका पर्छन् । यस्तै सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका र लहान नगरपालिका पर्छन् ।

यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, अग्नीसाइर गाउँपालिका, रुपनगर कञ्चनपुर नगरपालिका र सप्तकोशी नगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा सुनसरीको सुनसरी बराहक्षेत्र नगरपालिका, रामधुनी गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका प्रसारण लाइनको रुटमा पर्दछन् ।

Comment


Related News

Latest News

Trending News