अपडेट 
२०८१ असार २, आईतवार १८:५१

बाबुराम भट्टराई नेतृत्वको  नेपाल समाजवादी पार्टी (नेसपा) ले महिन्द्र राय यादवलगायत नेताहरूलाई पार्टीबाट हटाएको छ। यादव प्रतिनिधि सभा सदस्य छन्। २०७९ को चुनावमा नेसपा अध्यक्षसमेत रहेका यादवले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका थिए।

यस्तै नेसपाले पार्टीका सहअध्यक्षसमेत रहेका बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठलाई पनि पार्टीबाट हटाएको छ। श्रेष्ठ बागमतीमा आन्तरिक मामिला तथा कानुन मन्त्री छन्। उनी २०७९ को चुनावमा माओवादीको चुनाव चिह्नबाट सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।

यस्तै नेसपाले रमेशप्रसाद यादवलगायतलाई पनि पार्टीबाट हटाएको छ। नेसपाले हटाएका यी तीनै जना नेताहरूले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए। गत वर्ष चैत ३ गते बालुवाटारमा उनीहरूले पार्टी एकता गर्ने सहमति गरेका थिए। पार्टी एकता गर्ने सहमतिमा अध्यक्ष भट्टराई असहमत थिए।

नेसपाले यादवसहित तीन नेतालाई पार्टी सदस्यबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएको थियो। आयोगबाट उक्त विवरण अद्यावधिक भएको जानकारी आएको नेसपाले विज्ञप्ति निकालेर उल्लेख गरेको छ।

नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले आइतबार निकालेको विज्ञप्तिमा यादवसहितलाई नेसपाको सदस्यबाट हटाइएको उल्लेख गरेका छन्। यादवसहित नेताहरूलाई नेसपाको नाम, चुनाव चिह्न, लोगो र झण्डाको प्रयोग नगर्न पनि नेसपाले भनेको छ।

यसअघि माओवादीले आफ्नो चुनाव चिह्न लिएर गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका प्रदेश सभा सदस्य फणिन्द्र देवकोटालाई ‘ह्विप उल्लंघन गरेको’ भन्दै कारबाही गरेको थियो।

माओवादीले कारबाही गरेपछि देवकोटा पदमुक्त भएका थिए। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएपछि माओवादीले देवकोटामाथि कारबाही गरेको थियो। मुख्यमन्त्रीले देवकोटालाई ऊर्जा मन्त्री नियुक्त गरेका थिए। सांसदसँगै उनको मन्त्री पद पनि गएको थियो।

यादव पक्षका नेसपा र माओवादीबीच एकता गर्ने भने पनि करिब तीन महिना हुनै लाग्दासम्म एकता प्रक्रिया अघि बढेको छैन।

Comment


Related News

Latest News

Trending News