अपडेट 
२०८१ असार ३, सोमबार ०७:४२

नेकपा एमाले धनुषा जिल्लामा सक्रिय सदस्यको संख्या १० हजार घटेको बताइएको छ ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार जेठ मसान्तभित्र संगठित सदस्यहरुलाई सदस्यता नवीकरण गर्ने समयसीमा तोकिएको थियो । एमाले जिल्ला कमिटीका अनुसार जेठ ३२ गतेसम्म अधिकतम् ६ हजार जनाले मात्र संगठित सदस्यता नवीकरण गराएका छन् । सदस्यता नवीकरणका लागि प्रति व्यक्ति ३ सय ४० रुपैयाँ एमालेको बैंक खातामा दाखिला गर्नुपर्ने प्रावधान राखिएको छ । तर आइतवार पनि ५ हजारको हाराहारीमा सदस्यता नवीकरणका लागि बैंकमा रकम दाखिला गरिएको छ ।

बैंकमा रकम दाखिला असारमा भएकाले त्यो सदस्यता मान्य हुने नहुनेमा अन्योल छ । पार्टी केन्द्रीय समितिले नयाँ निर्णय नगरे जेठ मसान्त सम्म नवीकरणका लागि दस्तुर बुझाएकाहरुको मात्र हुने जिल्ला अध्यक्ष राजकिशोर यादवले जनाए । मधेश प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लामा एमालेको संगठन बलियो नै मानिन्छ । प्रतिनिधि सभामा एमालेबाट रघुबीर महासेठ धनुषा–४ र जुली महतो धनुषा–३ बाट निर्वाचित भएका छन् ।

त्यसैगरि प्रदेश सभामा रामचन्द्र मण्डल(सभामुख), हरिनारायण महतो, दिपेन्द्र ठाकुर, लखन दास निर्वाचित भएका छन् । जिल्ला अध्यक्ष यादवका अनुसार यस अघि धनुषामा १७ हजार ७ सय २७ जना संगठित सदस्य रहेका थिए । तर यस पटक नवीकरणमा धेरैले चासो नदेखाएको बताइन्छ । असार महिनाको १६ गते जिल्ला अधिवेशन उद्घाटन भई तीन दिन सम्म चल्ने कार्यक्रम निर्धारण गरिएको छ । तर सदस्यता नवीकरण गराउने, त्यसको आवद्यिक गर्ने, आय–व्यय विवरण, राजनीतिक प्रतिवेदन लगायतका कार्यहरु बाँकी नै रहेकाले अधिवेशन सर्ने संभावना पनि रहेको बताइन्छ । ‘

सबै काम समयमै सम्पन्न भए निर्धारित मितिमै अधिवेशन हुनेछ’अध्यक्ष यादवले भने– ‘जेठ मसान्त सम्म नवीकरण भएकाहरुलाई मात्र मान्य गरिए अधिवेशन सर्ने छैन् ।’ धनुषा जिल्लामा एमाले भित्र दुई गुट सक्रिय छ । एउटा गुट उपप्रधान एवं भौतिक पूर्वाधार विकास मन्त्री रघुबीर महासेठ निकट रहेकाहरुको छ भने अर्को गुटको नेतृत्व केन्द्रीय सदस्य उमाशंकर अरगडिया र सञ्जीव झाले गरिरहेका छन् । दुवै गुट प्रदेश स्तरमा नै व्याप्त छ ।

जिल्ला कमिटीले अधिवेशनको तयारी गरिरहेको बेला उपाध्यक्ष भोला यादव र सचिव तेजनारायण यादवले अध्यक्षमा उठने तयारीमा लागेका छन् । स्रोतहरुका अनुसार यादवद्वय उपप्रधानमन्त्री महासेठ निकटका नेताहरु छन् । उनकै निकट रहेका सन्तोष कुमार यादवले पनि अध्यक्षको तयारी गरिरहेका छन् । उनी केन्द्रीय सल्लाहकार समितिमा सदस्य छन् । उपाधयक्ष भोला यादव र सन्तोष यादव लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ बनिनियाका बासिन्दा हुन् ।

अध्यक्ष पदका लागि सपहीका अजय यादव, मिथिला बिहारीका सुनिल यादव पनि उम्मेदवारी दिने तयारीमा रहेको बताइन्छ । मधेश प्रदेश लेखा समितिका संयोजक रहेका लक्ष्मीनारायण यादवको नाम पनि अध्यक्षमा उम्मेदवारको रुपमा आइरहेको छ । तर उनी स्वयंले भने उम्मेदवार नरहेको बताएका छन् । ‘म लेखा समितिको संयोजक रहेकाले जिल्ला अध्यक्षको दौडमा छैन्’ उनले भने–‘जिल्ला नेतृत्व चयनका लागि साथीहरुले निर्णय लिने छन् ।’ अध्यक्ष पदका लागि श्याम पूर्बेले पनि चाहना राखेका छन् ।

जिल्ला अधिवेशनमा अध्यक्षमा उठने उनले पार्टी कार्यकर्ताहरुलाई बताउन थालेका छन् । सात प्रदेश मध्ये मधेश प्रदेशमा मात्र प्रदेश कमिटी सर्वसम्मतिबाट चयन भएको थियो । प्रदेश कमिटीको चुनावका लागि उम्मेदवार हरुले सम्पूर्ण तयारी गरिसकेका थिए । तर, अन्तिम समयमा नेतृत्व सर्वसम्मतबाट चयन भएको थियो । जिल्लामा पनि त्यो दोहोरिने बलियो सम्भावना रहेको एमालेका नेताहरु बताउँछन् ।

जिल्ला अधिवेशन आयोजक समितिमा रहेका १ सय १५ जना प्रतिनिधि चयन भइसकेका छन् । अन्य प्रतिनिधिका लागि ५ गते हुने जिल्ला सचिवालय कमिटीको बैठकले मापदण्ड निर्धारण गर्ने बताइएको छ । मधेश प्रदेशमा धनुषा र सिरहा जिल्ला बाहेकका ६ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News