अपडेट 
२०८१ असार ३, सोमबार ०९:००

आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले बनाएको २७ रन सर्वाधिक रह्यो। उनले ४० बलमा १ चौका र १ छक्का हाने। दिपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरी २५ रनको योगदान गरे।

नेपालका अनील साह, गुल्सन झा र सोमपाल कामी शून्यमा आउट भए। कुशल भूर्तेल ४ रन, आशिफ शेख १७ रन, रोहित पौडेल र सन्दीप जोरा १/१ रन बनाएर आउट भए।

बंगलादेशका लागि तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३, शाकिब अल हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए।

सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेल खेलेको नेपालले बंगलादेशलाई १९.३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको थियो। नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए।

नेपालका लागि सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले बंगलादेशका ओपनर तान्जिड हसनलाई आउट गरे।

लगत्तै दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नेपालका लागि दोस्रो विकेट लिए। दोस्रो ओभरको तेस्रो बलमा उनले बंगलादेशका कप्तान नजमुल हुसेन सान्तोलाई बोल्ड गरे।

नेपालले ४.३ ओभरमा तेस्रो विकेट लियो। सोमपाल कामीले लिटन दासलाई आसिफ शेखबाट क्याच आउट गराए। ५.४ ओभरमा चौथो विकेट कप्तान रोहित पौडेलले लिए। उनले बंगलादेशका टोहिड हृदोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराए।

८.६ ओभरमा बंगलादेशका महमुदउल्लाह सन्दीप लामिछानेको बलिङमा रन आउट भए।११.४ औं ओभरमा कप्तान रोहित पौडेलले शाकिब अल हसनलाई बोल्ड गरे।

सातौं विकेट सन्दीप लामिछानेले लिए। उनले १३.२ ओभरमा बंगलादेशका तान्जिम हसन साकिबलाई बोल्ड गरे। १५.३ ओभरमा  लामिछानेले जाकर अलीलाई बोल्ड गरे। नवौं विकेट दीपेन्द्र सिंह ऐरीले लिए।

उनले १७.१ ओभरमा रिसद हुसेनलाई अनील साहबाट क्याच आउट गराए।

यसरी सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ विकेट लिन २२ रन खर्चिए। रोहित पौडेलले ४ ओभर बलिङ गरेर २ विकेट लिँदा २० रन खर्चिए भने चारै ओभर बलिङ गरेका सन्दीप लामिछानेले १७ रन खर्चिएर २ विकेट लिए।

कुशल भूर्तेलले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिएर विकेटविहीन रहे। एक ओभर बलिङ गरेका अभिनास बोहरा १० रन खर्चिए।

नेपालको घातक बलिङमा बंगलादेशका ओपनर तान्जिड हसन शून्यमा, लिटन दास १० रनमा, कप्तान नजमुल हुसेन शान्तो ४ रनमा, शाकिब अल हसन १७ रनमा, टोहिड हृदोय ९ रनमा, महमुदउल्लाह १३ रनमा, जाकर अली १२ रनमा, तान्जिम हसन शाकिब ३ रनमा, रिसद होसेन १३ रनमा, तास्किन अहमद १२ रनमा र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए।

सुरुवाती तीन खेलमा जित निकाल्न नकसेपछि नेपाल सुपर-८ मा पुग्न असफल भएको छ। जितसँगै बंगलादेश सुपर आठमा पुगेको छ।

नेपाल तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोर्दा श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

Comment


Related News

Latest News

Trending News