अपडेट 
२०८१ असार ४, मंगलवार ०६:५८

पर्सा जिल्लाको सशस्त्र प्रहरीले हुण्डीको रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

भारतबाट ल्याउँदै गरेको १२ लाख हुण्डीको रकम र मोटरसाइकलसहित पक्राउ गरेको युवकलाई सोमबार नै भन्सार कार्यालयमा बुझाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर– १६ भन्सार चेकप्वाईन्टबाट सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १२ लाख हुण्डीको रकमसहित जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–७ का अन्दाजी ३८ वर्षीय छठु महतो कोइरीलाई पक्राउ गरिएको जनाएको छ ।

रक्सौलबाट प्रदेश २–०३–०२० प ४२२२ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ आउँदै गर्दा चेकजाँच गर्ने क्रममा हेल्मेट भित्र लुकाई छुपाई राखेको १२ लाख रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद रकम र मोटरसाइकलसहित युवकलालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताएका छन् ।

सीमावर्ती भारतीय बजारमा नेपाली मुद्रा प्रचलनमा रहेको छ । नेपाली ग्राहकहरुले कारोबार गर्ने नेपाली मुद्रा फेरि नेपालमा अवैध बाटोबाट आउने गरेको छ । नेपाली उपभोक्ताहरुले कारोबार गर्ने नेपाली मुद्रा भारतमा सयकडा २ रुपैयाँ कममा खरिद गरिन्छ । बट्टा काटेर कारोबार हुने नेपाली मुद्रा पुनः नेपालमा आउन बट्टा अथवा सुनसित साटिने गरिन्छ ।

नेपालसित सीमा जोडिएको सबै भारतीय बजारमा नेपाली मुद्रा निर्वाध रुपमा चलनमा रहेको छ । सीमावर्ती बजारमा नेपाली मुद्रामा नै वस्तुको मूल्य निर्धारण गरिएको हुन्छ । नेपाल र भारतबीच मुद्राको नै अवैध कारोबार गर्ने धन्दामा बारा र पर्सा जिल्लाका दर्जनौँ युवा र महिलाहरु सक्रिय रहेका छन् ।

यसैबीच प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बारा जिल्लाको कलैया उपमहानगरपालिकाको वडा नम्बर ६ मा अवस्थित गुप्ता पेट्रोल पम्पको पूर्वपट्टी रहेको एउटा फर्मबाट हुण्डी र अवैध रुपमा सुन तस्करीको रकम भु्क्तानी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीले गतहप्ता नै कलैयामा पशुपति ट्रेड कन्सर्न सञ्चालन गरेका एक जनालाई पक्राउ गरेको छ ।

पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादवलाई गत हप्ता पक्राउ गरिएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । यादवको पशुपति टे«ड कन्सर्न बाहिरबाट हेर्दा सामान्य जस्तो नै देखिन्छ । तर विद्युतीय माध्यमबाट १ वर्षमै झण्डै सवा अर्ब रुपैयाँको कारोबार गरेको पुष्टि हुने प्रमाण सीआईबीले फेला पारेको छ । एक वर्ष भित्र यादवले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार गरेको सीआईबी स्रोतले जनाएको छ । उनले पेवेलमार्फत १ अर्ब १७ करोड ३२ लाख र सजिलो–पेमार्फत् ३ करोड ३८ लाख रुपैयाँको कारोबार गरेको सीआईबीले जनाएको छ ।

उनी पेवेल र सजिलो भुक्तानी सेवाका बाराको कलैया स्थित एजेन्ट हुन् । उनी पक्राउ परेसँगै पेवेल र सजिलो पेका सञ्चालक, कर्मचारी र एजेन्ट समेतगरी हालसम्म पक्राउ पर्नेको संख्या ७ पुगेको छ । यसअघि पेवेलका एजेन्ट बुटवलस्थित जेके मनी ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवर पक्राउ परेका थिए । उनले एक वर्षको अवधिमा ३ अर्ब ३४ करोडको कारोबार गरेको भेटिएको थियो । हेर्दा सामान्य देखिने र वैध कारोबार पनि न्यून रहेको सो मनी ट्रान्सफरले एक वर्ष अवधिमा झण्डै साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको पाइएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो । नेपालमा पछिल्लो समय सुन तस्करीमा भारी वृद्धि भएको छ ।

सुन तस्करहरुको भुक्तानीमा विभिन्न अवैध मार्गहरुबाट अर्बौ रुपैयाँको कारोबार हुने गरेको छ । सीआईबीले ६० किलो सुन तस्करीको अनुसन्धानको क्रममा विभिन्न अवैध माध्यमहरु फेला पारेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइ सञ्चालनमा रहेका पेवेल र सजिलो भुक्तानी सेवाको काठमाण्डुस्थित कार्यालयमा सीआईबीले छापामारे पछि देशको अन्य भागबाट समेत अर्बौ रुपैयाँको अवैध कारोबार भएको खुलेको छ ।

Comment


Related News

Latest News

Trending News