अपडेट 
२०८१ असार ४, मंगलवार ०७:१२

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा कृषि विद्युतीकरणका लागि सरोकारवालासंग छलफल गरेका छन् ।

जनकपुरधाममा सोमबार नेपाल विद्युत प्राधिकरणका मधेश प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसंग कृषि विद्युतीकरणको विषयमा छलफल गरेका छन् । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत पुर्याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल गरेका छन् ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पनि कृषि विद्युतीकरणलाई प्रदेशको गौरवको परियोजनाको रूपमा समावेश गरिएको छ । मधेश प्रदेशको आठवटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा विद्युतीकरणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको बारे मुख्यमन्त्रीले जानकारीसमेत गराएको विद्युत प्राधिकरणका मधेश प्रदेश प्रमुख ठाकुरले बताए ।

छलफलको क्रममा मुख्यमन्त्रीले किसानका लागि कृषि विद्युतीकरणको कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राय लिएका थिए भने पुराना अव्यवस्थित तार र संरचनालाई व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराए । त्यस्तै बिजुली बत्ती नपुगेका विपन्न बस्तीको तथ्यांक संकलन गरी त्यहाँ विद्युत पुगाउने विषयमा पनि छलफल भएको थियो ।

मुख्यमन्त्री सिंहले यहाँका विपन्न घरपरिवारलाई निःशुल्क विद्युत मिटर उपलब्ध गराउन राखेको प्रस्तावमा प्राधिकरण सकारात्मक भएको प्रमुख ठाकुरले बताए ।

Comment


Related News

Latest News

Trending News