अपडेट 
२०८१ असार ५, बुधबार ०८:०५

मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले किर्तेगरी नागरिकता बनाएको प्रकरणमा कान्छी श्रीमतीको दाबी गरेकी रिता भट्टराईको सम्बन्ध विच्छेद र अंश मुद्दालाई जिल्ला अदालत पर्साले खारेज गरेको छ ।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी अमृत मिश्रले मुद्दाका निवेदक र विपक्षी (वादी– प्रतिवादी ) दुवै पक्ष उपस्थित नभएपछि मुद्दा खारेज गरिएको बताएका छन् । ‘मुद्दाको निवेदन आयो ,तर तोकिएको समयमा दुवै पक्ष उपस्थित भएनन् ’ सूचना अधिकारी मिश्रले भने, ‘त्यसकारण मुद्दा डिसमिस भयो ।’ अदालतमा दाबी विरोध केही पनि नआएपछि अब मुद्दामा उठान गरिएको विवादको निरुपण अदालतबाट नभएको र पुरानो अवस्थामै यथावत रहेको रुपमा बुझ्नु पर्ने उनले बताए ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पति दाबी गर्दै रिता भट्टराईको नामले दायर गरिएको अंश र डिभोर्स सम्बन्धी मुद्दा खारेज भएको हो । पर्सा जिल्ला अदालतको ५ नम्बर इजलासका न्यायाधीश प्रमेश पोखरेलको इजलासबाट जेठ २८ गते मुद्दा खारेज गरिएको छ । सो मुद्दाको फिराद पत्रमा राजेशमान सिंहसंग २०५७ साल माघ महिनाको २१ गते प्रेम विवाह गरेको दाबी गर्ने रीता भट्टराईले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट २०६५ वैशाख १२ गतेमा वंशजको आधारमा बनाएकी नागरिकतामा बुवा टीकाप्रसाद भट्टराई मात्र उल्लेख छ ।

शारीरिक सम्बन्धबाट मेयर राजेशमान सिंहसंग पति नाता कायम भएको दाबी गर्दै भट्टराईले २०८० माघ २८ गते अंश र डिभोर्स मुद्दा दायर गरेकी थिइन् । तर, दायर मुद्दाका सन्दर्भमा दाबी पेश गर्न निवेदक र विपक्षी दुवै उपस्थित नभएपछि अदालतले सो मुद्दा खारेज गरिदिएको छ । नक्कली छोरी कायम गरी किर्ते नागरिकता बनाएको उजुरीको छानबिन गर्न गृह मन्त्रालयले पठाएको उपसचिव पुष्कर राणा र अधिकृत परशुराम पोखरेलको छानबिन टोलीमा मेयर सिंहले रिता कान्छी श्रीमती भएको बयान दिएका थिए ।

गत माघ २७ गते टोलीसमक्ष दिएको बयानमा मेयर सिंहले रिता आफ्नी कान्छी श्रीमती भएको स्वीकार गर्दै रुबिना श्रेष्ठ छोरी भएको दाबी गरेका थिए । मेयर सिंहले वयान दिएको २४ घण्टा नबित्दै २०८० माघ २८ गते रिताको नामले जिल्ला अदालतमा मेयर सिंहलाई प्रतिवादी बनाउँदै अंश दिलाई सम्बन्ध विच्छेद गराउन मुद्दा दर्ता गराइएको थियो । जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदा पेस गरिएको रुबिना श्रेष्ठको जन्मदर्ताको कागज नक्कली भएको प्रमाणसहित समाचार विभिन्न सञ्चार माध्यममा आएपछि मेयरले चालेको कानुनी चाल पनि असफल भएको थियो । कुनै पनि सरकारी रेकर्डमा मेयर सिंह र रिता बीच श्रीमती नाता कायम भएको देखिएको छैन ।

भट्टराईले मेयर सिंहसंग आफूले प्रेम विवाह गरेको र सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गर्दै आफ्नो शरीरबाट जन्मेकी छोरीको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने रिताले फिराद पत्रमा उल्लेख गरेकी थिइन् । ‘प्रतिवादी राजेशमान सिंहकी पत्नी अन्नपूर्ण मानन्धर हुनु भएकोमा म फिरादीले प्रेम विवाह गरेका कारण प्रकाशमा नल्याए पनि मेरो उदार (शरीर) बाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र एवम् नागरिकता निवेदनबाट म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ,’ निवेदनमा उल्लेख गरिएको थियो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति मोहम्मद शाहाबुदिनले मेयर सिंहले रिताकी छोरी रुबिनालाई आफ्नो छोरी बनाई जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएर अध्ययनको लागि अस्ट्रेलिया पठाएको भनी जिल्ला प्रशासन कार्यालय पर्सामा गत पुस २४ गते सप्रमाण किर्तेमा कारबाहीको लागि निवेदन दिएका थिए । किर्ते नागरिकता प्रकरणमा छानबिनको लागि उनले दर्जनभन्दा बढी उजुरी विभिन्न सरोकारवाला निकायहरुमा दर्ता गराएका छन् । तर राज्यको नागरिकता सम्बन्धी कानुनले मेयर सिंहलाई छुन सकेको छैन । उनी कानुनभन्दा माथि रहेकाले किर्ते नागरिकतामा अन्य नागरिकहरु माथि कारबाही भए पनि मेयर सिंहलाई नछोएको बताइन्छ ।

रुबिना श्रेष्ठको फाइल जिल्ला प्रशासन कार्यालयबाट हराएकाले तदारुकता साथ खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताउँदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News