अपडेट 
२०८१ असार ६, बिहीबार ०६:३९

ेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनको मुद्दा हारेका छन् । उनको रिट खारेज भएसँगै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैधानिकता पाएका छन् ।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धी मुद्दा १८ महिनापछि सर्वोच्च अदालतले महामन्त्री यादवको विपक्षमा फैसला सुनाएको छ । यादवले पुनः मतगणनाको माग गर्दै रिट दायर गरेका थिए । उनी धनुषाबाट नेकपा एमालेका सचिव महासेठसंग पराजित भएका थिए । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतको अन्तरले पराजित गरेका थिए । महासेठले ३२ हजार २ सय ३६ मत ल्याउँदा यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका थिए ।

मतगणनाको क्रममा धाँधली भएको भन्दै यादवले ०७९ मंसिर २८ मा सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा कारण देखाऊ आदेश गर्दै उनीहरूलाई अदालत झिकाएको थियो । सर्वोच्चले बुधबार दुवै पक्षको कुरा सुनेपछि रिट खारेज हुने फैसला सुनाएको छ । प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले सो मुद्दा खारेजको फैसला सुनाएको छ ।

निर्वाचन सम्बन्धी विवाद संवैधानिक इजलासले टुंगो लगाउने संवैधानिक व्यवस्था भएकाले सो विवाद सिधै संवैधानिक इजलासमा पेशी चढ्ने गरी दर्ता भएको थियो । निर्वाचन सम्बन्धी १७ थान निवेदनलाई एकै पटक पेशी तोकिएको भए पनि बुधबार तीन थानमा मात्र फैसला भएको छ । यसअघि एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि मुद्दा हारेका छन् । उनको रिट पनि खारेज हुने फैसला संवैधानिक इजलासले गरेको थियो ।

यस्तै सुरेन्द्र चौधरीको रिट पनि संवैधानिक इजलासले खारेज गरिदिएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका राजकुमार गुप्तासँग चौधरी पराजित भएका थिए । चौधरीलाई १५१ मतको झिनो अन्तरले पराजित गर्दै गुप्ता निर्वाचित भएका थिए । चौधरी पुनः मतगणनाको माग लिएर सर्वोच्च पुगेका थिए । बुधबार पेसी चढेकामध्ये निर्वाचनसम्बन्धी अन्य मुद्दामा भने सुनुवाइ भएनन् ।

Comment


Related News

Latest News

Trending News