अपडेट 
२०८१ असार ७, शुक्रबार ०६:४४

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम –२०८१ (ट्राफिक सप्ताह ) समारोहमा मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमी आउने बताए । उनले भने, ’आजको बालबालिकाहरु भोलिको भविष्य रहेको कारणले बालबालिकाहरुको विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकोमा यसले समाजमा ठूलो परिवर्तन ल्याउने विश्वास रहेको छ ।

बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीहरुले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण हुन्छ ।’ उनले ट्राफिक नियमको पालना गर्न र गराउनको लागि आग्रह गरे । बस चालकले सवारी सधानको अवस्था बारेमा पूर्व जानकारी राख्नुपर्ने बताए । भित्री सडकमा बढ्दो चाप, सडक सञ्जालको तुलनामा ट्राफिक प्रहरीको इकाइहरुको अभाव ट्राफिक व्यवस्थापनका अभाव, अटो तथा रिक्साहरुको व्यवस्थापनमा समस्या, हुलाकी तथा भित्री सडकहरुमा सिसिसटभी नहुँदा दुर्घटनाको संख्या बढ्दै गरेको उनले बताए ।

गृह, संचार तथा कानुन मन्त्री बिमला अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतकाहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News