अपडेट 
२०८१ असार ७, शुक्रबार ०६:४७

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले केन्द्र र प्रदेश सरकारमा एमालेसंगको सहकार्य समयको विवशता रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएपछि सरकारलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले डिटेक्ट गरिरहेको प्रश्नको जवाफमा उनले भने, ‘कहिले काही मान्छे विवशता भएर जहर खाए जस्तै ,अहिलेको अवस्था हो ।’ मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको वीरगञ्जमा आयोजना हुने विस्तारित बैठकको विषयमा जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका उपमहासचिव यादवले मधेशमा भ्रष्टाचार र सुशासन कायम गर्नका लागि मधेशी राष्टिय मुक्ति मोर्चाले छिट्टै नयाँ आन्दोलनको शुरुवात गर्ने बताए ।

उनले कोमामा गएको मधेशी मोर्चालाई व्युँताउँदै आफू मधेशी जनता माझ जानको लागि सडक सघर्षलाई अगाडि बढाउने नेता यादवले बताए । जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरुबाट व्यवस्था परिवर्तन भए पनि मधेशको अवस्था अझै पनि जस्ताको त्यस्तै रहेको भन्दै नेता यादवले भने, ‘दलाल नोकरशाही पुँजीपति वर्गको कब्जामा देश गएकाले त्यसको भण्डाफोर गर्न मधेशमा भ्रष्टाचार विरोधी कार्यक्रमलाई निरन्तरता दिने छौँ ।’ मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालका इञ्चार्ज समेत रहेका नेता यादवले मधेशी तथा पहाडी शासक वर्गका नेताहरु राजनीतिलाई कमाई खाने साधन बनाएर जनसेवाको रुपमा रहेको राजनीतिलाई फोहोरी खेल बनाएको बताए ।

उनले जनतालाई संघीयता र गणतन्त्रको विपक्षमा पार्न भ्रमका जालहरु बुनिरहेको बताए । नेपालमा सबैभन्दा उपेक्षित मधेश र मधेशी नै भएकोले यसको उत्थानका लागि मधेशी राष्ट्रिय मुक्ति मोर्चालाई पुनर्जीवन दिनु आवश्यकता महसुस गरेर यसको अभियान सुरु गर्न लागेको बताए । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज विजय महतो, मोर्चाका संयोजक तथा सांसद जगत प्रसाद यादव, सहसंयोजक नन्दकिशोर यादव र विश्वदीप यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News