अपडेट 
२०८१ असार ७, शुक्रबार १४:२१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा भन्दा बढी अहिले देशको काममा खटेको दाबी गरेका छन् ।

शुक्रबार बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले जीवनको उत्तरार्द्धमा पुग्दासमेत आफू पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय रहेको बताए ।

‘जीवनको उत्तरार्द्धतिर लागेको छु । जनयुद्धमा भन्दा बढी अहिले खटेको छु । त्यतिबेला जीवन सरल थियो । भन्न त मान्छेले कहिले यता कहिले उता भन्छन् । तर मैले पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय भूमिका निर्वाह गरेको छु’, उनले भने, ‘सदनमा भएका र बाहिर भएका दलहरूलाई पनि संयोजन गर्ने काम गरिराखेको छु । अझ कांग्रेस, एमालेभित्रको समस्या पनि मैले नै समाधान गर्नु परेको जसरी मैले नै काम गरिराख्नु परिराखेकै छ । जीवनको अन्तिमसम्म पनि सक्रिय रहने प्रण गरेको छु ।’

पार्टी विभाजनको अप्ठ्यारा झेलेर पनि फेरि वृहत् एकताको नयाँ प्रक्रियातिर बल गरिराखेको उनले बताए । साथै शान्ति सम्झौताको हस्ताक्षरकर्ताहरूको बिचमा समझदारीका साथ अन्तिम टुङ्गो लगाउने कोसिस गरिराखेको प्रचण्डले जिकिर गरे ।

उनले आफूजत्तिकै सक्रिय भएर पार्टी, देश र आन्दोलन बनाउने कुरामा केन्द्रित रहन उनले अपिल गरे ।

Comment


Related News

Latest News

Trending News