अपडेट 
२०८१ असार ११, मंगलवार ०७:३०

बर्दिबास नगरपालिकाको नगर सभाले आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

बर्दिबासमा सोमबार भएको नगरसभामा बर्दिबास नगरको सर्वांगीण विकासका लागि १२ बुँदे अभियानलाई प्राथमिकतामा राखेर नगर प्रमुख प्रह्लाद क्षेत्रीले १४ औँ नगर सभामा सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सुलभ र स्तरीय स्वास्थ्य सेवा, विपन्न समुदायलाई बिमा सुविधा, गुणात्मक र जीवनोपयोगी शिक्षा, कृषि तथा सिँचाइ, स्वच्छ खानेपानी पूर्वाधार निर्माण, सञ्चार प्रविधिको उपयोग, सामाजिक सुरक्षा, प्रकोप व्यवस्थापन, पर्यटन प्रवद्र्धन, दुव्र्यवसन नियन्त्रण, आन्तरिक आय वृद्धि जस्ता आधारभूत विषयलाई समेटेको छ ।

मेयर क्षेत्रीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गुणात्मक स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको छ । स्वास्थ्य उपकरणको भरपुर उपयोग गदै विशेषज्ञ चिकित्सकहरूद्वारा २४ घण्टै सेवा दिने गरी नमुना अस्पतालको रूपमा स्तरोन्नति गरिने उल्लेख गरेको छ । मुलुकमै पहिलोपटक मुसहर बस्तीबाट सुरु गरिएको स्वास्थ्य बिमालाई निरन्तरता दिँदै नगर क्षेत्रका लोपोन्मुख, सीमान्तकृत र दलित समुदायलाई समेत समेटिने कार्यक्रम अघि सारिएको छ ।

विपन्नलाई निःशुल्क स्वास्थ्योपचार, आमा सुरक्षा कार्यक्रम, स्तन र पाठेघर क्यान्सरको उपचार, वडास्तरमा एम्बुलेन्स सेवा र प्रभावकारी ढंगमा निःशुल्क औषधी वितरणलाई प्राथमिकतामा राखिएको छ । गुणात्मक शिक्षाका लागि १४ वटै वडामा नमुना विद्यालय सञ्चालन र विद्यालयको पूर्वाधार विकाशमा जोड दिइएको छ ।

त्यस्तै खेलकुदको विकासका लागि प्रत्येक वडामा एक खेल मैदानको अवधारणा अघि सारिएको छ । बर्दिबासलाई फलफूल तथा तरकारी खेतीमा आत्मनिर्भर बनाइ वडा नं ३ गौरीडाँडामा व्यवस्थित फलफूल तथा तरकारी बजारको व्यवस्था गरिने उल्लेख छ । बर्दिबास जिल्लाकै सुख्खाग्रस्त नगरपालिका भएकोले सुनकोशी मरिन डाइभर्सनको पानीलाई उपयोग गर्दै खानेपानी र सिचाई समस्यालाई दीर्घकालीन रूपले समाधान गर्न संघीय सरकारसँग सहयोगको पहल गरिने कार्यक्रम छ ।

आर्थिक मेरुदण्ड मानिएका पर्यटन र पूर्वाधार विकाशलाई विशेष प्राथमिकतामा छ । नगरपालिकाको अति दुर्गम मानिने चेरु, खयरमारा सिन्धुली सडक निर्माण कार्यलाई प्राथमिकतामा राख्दै राष्ट्रिय यातायात सञ्जालमा जोड्ने कार्यलाई पनि विशेष पहल र प्रयास गरिने जनाइएको छ ।

बर्दिबास नगरपालिकाले लोपोन्मुख जातीहरूको भाषा, कला र संस्कृतिको विकाश र संरक्षणलाई पहिलोपटक नीति तथा कार्यक्रममा समेटेको छ । सो नीति तथा कार्यक्रममा नगरपालिकाको ‘भाग्य रेखा’ भएको धारणा राख्दै मेयर क्षेत्रीले स्थानीय सरकारले दिगो विकाशलाई प्राथमिकतामा राखी बर्दिबासलाई प्रदेशकै नमुना सहर बनाउने लक्ष्य लिएको बताए । सो कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साह, शिक्षा तथा संस्कृति राज्य मन्त्री शारदादेवी थापा पानसमा बत्ती बालेर नगर सभाको उद्घाटन गर्दै बर्दिबास नगरको विकासमा सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News