अपडेट 
२०८१ असार १२, बुधबार ०६:४२

सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाको वडा नम्बर १ मा खोलिएको झलनाथ खनाल सर्पदंश उपचार प्रतिष्ठानमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ ।

सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्य कोषबाट गरिएको रकम खर्चमा हिनामिना भएको विशेष अदालतले ठहर गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ गते मधेश प्रदेशका तत्कालीन अर्थ मन्त्री विजय कुमार यादव सहितमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा विशेष अदालतले तत्कालीन मन्त्री यादव सहित पाँच जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पूर्वमन्त्री यादवसहित पाँचजनालाई दोषी ठहर गरेको छ । दोषी ठहराइएकाहरूमा प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय छन् । लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश प्रदेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।

अदालतले पूर्व मन्त्री यादवलाई मुख्य अभियुक्त ठहर गरेको छ । अदालतले पन्त, नवराज भण्डारी, निरज भण्डारी र रायलाई मतियारका रूपमा दोषी ठहर गरेको छ । अदालतले सबै प्रतिवादीहरूलाई दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि असार २५ गतेका लागि पेशी तोकेको छ ।

Comment


Related News

Latest News

Trending News