अपडेट 
२०८१ असार १२, बुधबार ०७:०४

क्याम्पस प्रमुखको हत्या गरेको घटनामा बारामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

जेठ ३२ गते कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको घटनामा सातजनालाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दधिराम न्यौपानेले जनाएका छन् ।

हत्या आरोपमा पक्राउ पर्नेमा बारा खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, २९ वर्षीय चांदसी प्रसाद कुशवाहा, २७ वर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह र ५० वर्षीय ब्रह्मदेव राम रहेको जनाइएको छ । त्यस्तै बाराकै ५० वर्षीय मोतीलाल चौधरी, ३४ वर्षीय राधेश कुमार पटेल र ५४ वर्षीय विनोद राउत कुर्मी पक्राउ परेको उनले बताए ।

उनीहरूको साथबाट तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, विभिन्न मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिम कार्ड समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । पक्राउ परेकाहरु माथि कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउन बारा जिल्ला अदालतबाट ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए ।

कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ स्थित बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो । घर जानेक्रममा उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए । पिठ्युँमा गोली लागेको प्रधानाध्यापक कुशवाहाको उपचारको क्रममा वीरगन्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो । यसअघि नै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

Comment


Related News

Latest News

Trending News