अपडेट 
२०८१ असार १४, शुक्रबार १३:४१

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूसँग पटक-पटक छलफल गरेर कार्यविधि स्वीकृतिको चरणमा रहेको बताए।

उनका अनुसार मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको छ। सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरूको मतदाता नामावली संकलन पूर्ण हुने बताए।

‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तिमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौं‌ भन्यौं। राजनीतिक दलहरूसँग पटक-पटक छलफल गरेका छौं। कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ,’ उनले भने, ‘त्यति बेला कहाँ जाने भन्दा हामीले के निधो गर्‍यौं भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौं न त, मतदाता दर्ता चाहिँ प्रारम्भ गरौ‌ं भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौं।’

उनले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरू रहेको ठाउँलाई दिनुपर्ने बताए।

‘पहिलो प्राथमिकता त्यो ठाउँमा दिनुपर्यो‍, जहाँ एउटा पिओर सिटिजन र पिओर भोटर्स छ, किनभने उसले जति प्रयत्न गरे पनि त्यहाँको नागरिक हुनै सक्दैन। त्यसलाई पहिलो प्राथमिकता दिऔं,’ उनले भने, ‘उताको सेवा सुविधा, यताको माया भन्ने मोडललाई दोस्रो प्राथमिकतामा राखौं। यतैप्रति हामी बढी आकर्षित छौं।’

अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताए।

Comment


Related News

Latest News

Trending News