अपडेट 
२०८१ असार १६, आईतवार ०८:४८

सरकारीस्तरबाट खेतमा धानको बिउ रापेर शनिबार २१ औं राष्ट्रिय धान दिवस मनाइरहँदा राजविराजका युवाहरु भने जीर्ण अवस्थामा रहेको राजविराज–रुपनी सडक खण्डको अविलम्ब स्तरोन्तिको माग गर्दै सडकमै धान रोपेका छन् ।

सप्तरी युथ नेपालको अगुवाइमा शनिबार राजविराज–रुपनी सडक खण्डको बिहारपुरमा यसरी युवाहरुले सडकमै धानको बिउ रोपेका छन् । पटक–पटक सम्बन्धित निकायलाई घच्घच्याउँदा पनि कुनै सुनुवाई र चासो नदेखाएकोले सांकेतिक विरोध स्वरुप सडकमै धानको बिउ रोपेर विरोध जनाउनुका साथै सरोकारवाला सबैको ध्यानाकर्षण गराउन खोजिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवले जानकारी दिइन् । राजविराज–रुपनी सडकखण्ड अति जीर्ण अवस्थामा छ । “खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ, यूवा अभियन्ता मो. अनवर अलीले भने, “खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको छ ।” सडक जोखिमपूर्ण अवस्थामा रहेकोले आपतकालीन अवस्थामा रहेका बिरामीलाई सो सडकमार्गबाट राजविराजलगायत अन्य अस्पताल पु¥याउन पनि सास्ती हुने गरेको स्थानीयको गुनासो छ ।

राजविराजको गीता पेट्रोल पम्पदेखी बिहारपुरको ५ सयमिटर सम्मको सडकमा मात्रै दर्जनौँ खाल्डाखुल्डी छन् । यसका अलावा राजविराजदेखी रुपनी सम्मको १० किलोमिटरमा झण्डै ५ किलोमिटर सडक जीर्ण अवस्थामा छन् । सडक चौडाई र कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले समयमै निर्माण काम सम्पन्न गर्न तदारुकता नदेखाउँदा अहिले वर्षायाममा जोखिम झनै बढाएको बिहारपुरवासी युवा नेता अमरनाथ मण्डलले बताए । वर्षाको पानीले हिलाम्मे बनेको सडकमा २ सय भन्दा बढी धानको बिउ रोपिएको अर्का युवा दिपेन्द्र दासले बताए । सप्तरी युथ नेपालको उक्त विरोध कार्यक्रममा स्थानीयले पनि समर्थन जनाएका छन् ।

दुई घण्टाको विरोधमा विभिन्न राजनीतिक दलका युवाहरुले पनि सहभागिता जनाए । यता कृषि ज्ञान केन्द्र सप्तरीको आयोजनामा “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” नाराका साथ २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ । यस अवसरमा राजविराज विमानस्थल नजिकै विष्णुपुर गाउापालिका ६ गोरगामास्थित खेतमा धान रोपाई कार्यक्रमको आयोजना गरिएको केन्द्रका प्रमुख किसुनदेव राउतले बताए ।

Comment


Related News

Latest News

Trending News