अपडेट 
२०८१ असार १७, सोमबार १९:४७

आफूलाई तपश्वी दाबी गर्दै विभिन्न आश्रममा बस्ने रामबहादुर बमजनले बाल यौन दुरूपयोग गरेको भन्दै सर्लाही जिल्ला अदालतले १० वर्ष कैद सुनाएको छ।

१४ वर्षकी हुँदा बमजनले आफूलाई बलात्कार गरेको भन्दै रौतहटकी गंगामाया तामाङले चारवर्षअघि जाहेरी दिएकी थिइन्।

उनको जाहेरीमा अनुसन्धान गरेर प्रहरीले बनाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले यौन सन्तुष्टी प्राप्त गर्न बालिकालाई प्रयोग गरेको अभियोगमा मुद्दा चलाएको थियो। उक्त अभियोग पुष्टी भए बालिका बलात्कारको कसुरमा हुने सजाय हुने कानुनी व्यवस्था छ।

सोही मुद्दामा सुनुवाई गर्दै जिल्ला न्यायाधीश जिवनकुमार भण्डारीको इजलासले बमजलाई दोषी ठहर गरेको थियो। सोही इजलासले आज १० वर्ष कैद सजाय र बालिकालाई ५ लाख क्षतिपूर्तिको फैसला सुनाएको हो।

आजभन्दा पाँचवर्षअघि गंगामायाले बमजनले आफूलाई बलात्कार गरेको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन्। त्यसपछि जाहेरी दिन प्रहरीमा गएकी उनलाई प्रहरीले बालअधिकारसम्बन्धी संस्थामा पठाएको थियो।

उक्त घटनाको तीन महिनापछि बमजनले आश्रमहरूमा गरेको हत्या, व्यक्ति बेपत्ता, हिंसा र बलात्कारका घटनामा तीन महिनासम्म अनुसन्धान गरी तयार पारेको फेहरिस्त सेतोपाटीमा प्रकाशित भएको थियो। सेतोपाटीले गंगामायामाथि बमजनले गरेको बलात्कार र आश्रममा चलाएको अपराधको शृंखलाबारे पाँच स्टोरी प्रकाशन गरेको थियो।

धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्। बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका थिए।

आफ्ना छोरी, बावु र छोरालाई बमजनले बेपत्ता बनाएको भनेर त्यतिखेरै पाँच परिवारले जाहेरी दिएका छन्।

गंगामायाको जाहेरी भने उनी १८ वर्षपुगेपछि मात्र प्रहरीले लिएको थियो। आफूमाथि बाल्यकालमा भएका यौनजन्य घटनाबारे १८ वर्षपुगेपछि जाहेरी दिन पाइन्छ।

बालबालिका सम्बन्धी ऐन अनुसार प्रहरीले अनुसन्धान अघि बढाउँछ। गंगामायाको घटनामा पनि प्रहरीले यही कानुन अनुसार मुद्दा बढाएको थियो।

Comment


Related News

Latest News

Trending News