अपडेट 
२०८१ असार १८, मंगलवार ०७:१३

संघीय गठबन्धन फेरिने सम्भावना बढेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेसँगै गठबन्धन फेरिने आधार खडा भएको छ ।

एमालेका अध्यक्ष ओली र कांग्रेसका सभापति देउवा आफ्ना निकटका नेताहरुसित सरकार गठनको विषयमा छलफल थालिसकेका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने विषयमा दुवै दलका नेताहरुबीच केही समयदेखि अनौपचारिक छलफल चलिरहेको छ । एमाले अध्यक्ष ओली निवासमा शनिबार कांग्रेस सभापति देउवा दम्पतीबीच भएको छलफलपछि राजनीति तरंगित बनेको छ । आइतबार र सोमबार प्रचण्ड र ओलीबीच सघन छलफल भएको छ ।

सरकार ढल्ने हल्ला निराधार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दाबी गरेका छन् । तर गठबन्धन धरापमा नरहेको विश्वास कसैलाई छैन । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनी सोमबार बिहान ठूला समर्थक ओलीसित झण्डै ३ घण्टा लामो छलफलपछि दिउँसोको मन्त्रिपरिषद् बैठकमा गठबन्धन लामो समय नै चल्ने विश्वास मन्त्रीहरुलाई दिलाएका थिए ।

सोमबार नै भएको कांग्रेस पदाधिकारीको बैठकमा सभापति देउवाले एमालेसितको वार्ता सकारात्मक रहेको ‘बिफ्रिंग’ गरेका थिए । त्यस बाहेक बैठकमा उनले खुल्न चाहेनन् । एमालेसितको सामिप्यता बढेको देउवाको कथन थियो । देशको राजनीति अस्थिर रहेकोले गठबन्धन सरकारको भविष्यबारे ठोकुवा गर्न नसकिने वरिष्ठ पत्रकार किशोर नेपालले बताए । ‘राजनीति अस्थिर भएको छ ’ उनले भने, तर तत्कालै केही भइहाल्ने अवस्था पनि छैन । कांग्रेसले गरेको प्रस्तावलाई सोझै एमाले अध्यक्ष ओलीले स्वीकार गर्ने स्थिति नदेखिएको बताउँदै उनले भने, तर गठबन्धनको साँचौ नै ओलीसित रहेकाले कुनै बेला केही पनि हुन सक्छ ।

सत्तागठबन्धन जोगाउन र ढाल्ने खेलमा कांग्रेस, एमाले र माओवादी पनि लागेको छ । प्रचण्डले एमालेसित गठबन्धन गरेपछि देउवा उनीप्रति विश्वास गर्नै नहुने हठ छाडेका छैनन् । तर प्रचण्डले आप्mना विश्वासपात्र एकजना मन्त्रीमार्फत सरकार जोगाइदिन कांग्रेसलाई आग्रह गर्दै आलोपालोमा कायम रहने सन्देश पठाएको स्रोतहरुले जनाएका छन् ।

उच्चस्रोतहरुका अनुसार कांग्रेस र एमालेले संविधान संशोधन गर्ने बहुमत सहितको सरकार गठन गर्न लागेको छ । ओलीले विगतमा पनि संविधान संशोधन गर्न चाहेका थिए । प्रतिनिधि सभामा सबै भन्दा ठूला दल रहेको नेपाली कांग्रेसको ८८ जना सांसद रहेका छन् । त्यसैगरि दोस्रो ठूलो दल नेकपा एमालेको ७८ जना सांसद रहेका छन् । प्रतिनिधि सभामा कुल २ सय ७५ जना सांसद छन् ।

Comment


Related News

Latest News

Trending News