अपडेट 
२०८१ असार १८, मंगलवार ०७:१९

प्राचीन मिथिलाको राजा जनकले राजधानी जनकपुरधाम क्षेत्रको चार किल्लाको रुपमा चार वटै दिशामा महादेवको मन्दिर छ । सो मध्ये एक मन्दिरको बारेमा अन्योल रहेको छ ।

राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको सम दूरीमा चारवटा मठ निर्माण गरेका थिए । महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ मन्दिर, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ मन्दिर, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ मन्दिर र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गरेको थियो । जसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिरमा पूजापाठ भइरहे पनि मठेश्वरनाथ मन्दिरको अवशेष नै संकटमा रहँदा सो मन्दिरबारे विभिन्न ठाउँमा चर्चा हुँदै आएको थियो । सोही क्रममा धनुषाको सबैलामा नगरपालिकामा मठेश्वरनाथ मन्दिरको अवेशष फेला परेको भन्दै उत्खनन कार्य जारी रहेको छ ।

सबैला नगरपालिका– ६ स्थित गोविन्दपुरमा प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन कार्य दश दिन देखि भइरहेको छ । पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित तीन सदस्यीय टोलीले असार ७ गतेदेखि सो मन्दिरको अवशेष उत्खनन कार्य गरिरहेको छ । स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन कार्य गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर रहेको दाबी गर्दै आएको छ ।

यस मन्दिरको बारेमा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । पुरातत्वविद् दर्नालले भग्नावशेष हेर्दा करिब नौ सय वर्ष पुरानो मन्दिरको अवशेषसहितको स्वरूप देखिएको बताए । मठेश्वरनाथ मन्दिर नै हो भनेर भन्न नसकिने बताउँदै उनले उत्खननको क्रममा एउटा ढुंगामा लिच्छवी लिपिमा लेखिएको अक्षर फेला परेको बताए ।

ढुंगामा लेखिएको लिच्छवी लिपि अक्षरको शब्द ‘मना’ रहेको उनले बताए । पश्चिमतर्फ मन्दिरको प्रवेश गर्ने द्वार रहेको यसको संरचनाबाट प्रस्ट हुन्छ । त्यसैले पहिला प्रवेशद्वारबाटै उत्खनन सुरु गरिएको भन्दै पुरातत्वविद् दर्नालले भने, ‘ भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना ईटा र सोको तल्लो भागमा ठुल्ठुला ढुंगा एकआपसमा ‘इन्टर लक’ गरिएको अवस्थामा भेटिएको छ ।

ढुंगा प्राचीन समयको जस्तो देखिए पनि ईटा कहाँबाट ल्याइएको हो त्यसको बारेमा पनि अनुसन्धान गरिने उनले बताए । मिथिलाको सभ्यता काठमाण्डुभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेटिन सक्ने उल्लेख गर्दै पुरातत्व विभागले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको उनले बताए । उनले भने, ‘यो मन्दिर प्राचीन त प्राचीन नै हो । यहाँ मिथिला, मौर्य, गुप्त र बज्जी संघको सभ्यता लुकेको छ । त्यसैले अन्तिम अध्ययन नसकिएसम्म यही नै हो भन्न सक्ने अवस्था अहिले नै छैन ।’ स्थानीय ७० वर्षीय विन्देश्वर यादवले एक जना अघोरी बाबासंग आएका झोपेले यो ठाउँमा खन्न लगाएको बताए ।

मन्दिर खनेर ढुंगाहरू छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट ईटा झिकेर माथिबाट ईटा जडान गरिदिएको उनले बताए । मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठुल्ठुला ढुंगा छ । गाउँका कतिपयले सिलौटा बनाउन, मूर्ति स्थापनाका लागि तथा अन्य प्रयोगका लागि यहाँबाट ढुंगा लगिसकेका छन् । सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो । सो इनार अहिले पुरिएको छ । मन्दिरभन्दा पश्चिम एउटा पोखरी थियो । त्यो पोखरी पनि अहिले पुरिएर खेतमा परिणत भएको उनले स्मरण गरे ।

सबैला नगरपालिकाका मेयर कारीराम यादवले पुरातत्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिएमा यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको बताए । यस ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममार्फत समेत समेट्दै आएको उनले बताए ।

मिथिला माध्यमिकी परिक्रमाको क्रममा कतिपय ज्येष्ठ नागरिक तथा सन्तहरु चार दिशामा रहेको महादेव मन्दिरको परिक्रमा गर्ने बेलामा सबैला स्थित गोविन्दपुरमा रहेको सो मन्दिरको समेत दर्शन तथा पूजापाठ गर्ने गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News