अपडेट 
२०८१ असार १९, बुधबार ०७:४७

रौतहटको बृन्दावन नगरपालिकाका मेयर बिनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले रौतहट जिल्ला अदालतबाट पक्राउ गर्न आदेश जारी भएको जनाएको छ । जिल्ला अदालतको आदेश पछि पनि मेयर कुर्मी भने पक्राउ परेका छैनन् । उनले दैनिक नगरपालिकाको कामकाज गरिरहेका छन् । पक्राउ पुर्जी जारी भएकै बीच असार १० गते सुरक्षाकर्मीको उपस्थितिमा नगरसभासमेत सम्पन्न गरेका छन् ।

वृन्दावन नगरपालिका–१ स्थित राहुल माछापन्छी तथा कृषि फर्मको गोठ, घर र बाछो घाइते हुने गरी २०८१ जेठ २७ गते साँझ आगो लगाई आपरधिक गतिविधि गरेको भन्दै वृन्दावन–४ का वडाअध्यक्ष श्यामराय यादवका छोरा मुरलीधरराय यादवले मेयर कुर्मीलगायत १४ जनाविरुद्ध जेठ ३० गते इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका थिए । प्रहरीले सो जाहेरी दर्ता गरी अदालतबाट असार २ गते पक्राउ पुर्जीको आदेश लिएको छ । इलाका प्रहरी गरुडाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले आगजीनको घटनामा मेयर कुर्मीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको बताएका छन् । ‘सुरुमा आगजनी गरेको भनेर जाहेरी आएको र पछि हामीले दर्ता गरेर मेयरलगायतकाविरुद्ध पक्राउ पुर्जी पनि लिइसकेका छौं,’ उनले अघि थप्दैँ भने, ‘ अर्को पक्षले पनि जेसिबी तोडफोडको जाहेरी लिएर आए पछि त्यो पनि दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिइसकेका छौं ।’ मेयर कुर्मी पक्षले जेसिबी तोडफोड भनेर वडाअध्यक्ष श्यामराय यादव, वडा २ का अध्यक्ष सिकिन्द्र पटेल, नगर प्रमुखका प्रत्यासी माओवादी नेता रामप्रसाद पटेललगायत १८ जनाविरुद्ध असार ८ गते जाहेरी दिएको थियो ।

सो जाहेरी पनि इलाका प्रहरीले दर्ता गरेको जनाएको छ । सोजाहेरी दर्ताको हल्ला पछि वडाअध्यक्ष श्यामराय यादवसहितका व्यक्ति इलाका प्रहरी पुगेर प्रतिबाद गरेका थिए । वडाअध्यक्ष श्यामले भने, ‘आगजनी घटना साम्य पार्न डेढ सातापछि जेसिबी तोडफोड भनेर ल्याएको जाहेरी प्रहरीले नियतबश दर्ता गरेको छ ।’ गत जेठ १ गते नगरपालिकाले वागमतीमा नदीजन्य वस्तु उन्खनन् का लागि अमानतमा स्काभेटर प्रयोग गरी ठेकेदारलाई बिक्री गरेको थियो । पूर्वमेयर रामस्नेही राय यादव, माओवादी नेता एवं नगरपालिकाका प्रत्यासी रामप्रसाद पटेल, वडाअध्यक्ष श्यामराय यादवलगायत स्थानीयहरु नियम विपरीत भन्दै बिरोध उत्रेका थिए ।

यही बीच मेयर कुर्मी र स्थानीय बीच बागमती नदीमै झगडा भएको थियो । जिल्ला प्रशासन कार्यालमा दुबै पक्षलाई बोलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेठ २५ गते छलफल गराए । नदीजन्य वस्तु उत्खनन् गर्दा स्काभेटर प्रयोग नगर्ने, चक्का भएको जेसिबी प्रयोग गर्ने भन्ने सहमति भएको थियो । तर मेयर कुर्मीले बलजफ्ती स्काभेटर प्रयोग गरेको भन्दै जेठ २७ गते केही स्थानीय पुगेर तोडफोडमा उत्रे पछि घटनाले उग्र रुपले लिएको छ । त्यसैदिन साँझ वडाअध्यक्ष श्यामराय यादवको फर्ममा आगजनी भएको थियो । आगजनी घटनामा ५४ लाख ३५ हजार रुपैयाँको क्षति भएको प्रहरीको जाहेरीमा उल्लेख गरेको छ ।

मेयर कुर्मीले पटक/पटक प्रतिशोध साध्ने काम गरेको र २५÷३० जनाको समूहमा आएकाहरुले फर्ममा आगो लगाई दिएको जाहेरीमा लेखिएको छ । मेयर कुर्मी आफै आगो लगाउने घटनामा संलग्न रहेको जाहेरवाला मुरलीधर यादवले बताए । मेयर कुर्मीले आगजनी घटनामा संलग्न भन्ने आरोप सरासर झुठो भएको बताए । तर किटानी जोहेरीमा उनकै निर्देशनमा आगो लगाएको भनिएको छ । आफुविरुद्धको पक्राउ पुर्जीबारे नगरप्रमुख कुर्मीले इलाका प्रहरी गरुडाले बदमासी गरेको आरोप लगाए । उनले आफुविरुद्ध लाग्ने १८ जनाको पनि पक्राउ पुर्जी आएको बताए ।

इलाका प्रहरी गरुडाले जिल्ला अदालतबाट असार २ गते नै पक्राउ पुर्जीको आदेश लिई प्रहरी चौकी बिश्रामपुर र जिल्ला प्रहरीलाई संचार गरेको थियो । पक्राउ पुर्जी जारी भईसके पनि प्रहरीले पक्रनको साटो उल्टै नगरसभा गर्न सुरक्षा दिएको भन्दै पूर्व नगरप्रमुख रामस्नेही राय यादव, वडाअध्यक्षहरु श्यामराय यादव र सिकिन्द्र पटेललगायत स्थानीयले विरोध जनाएका छन् । एक साताअघि उनीहरु इलाका प्रहरी गरुडा पुगेर कार्यालय अघि प्रदर्शन समेत गरेका थिए । कुर्मी एकीकृत समाजवादी पार्टीबाट मेयरमा निर्वाचित छन् ।

जिल्ला अदालतले मेयर कुर्मीको अलवा वृन्दावन–६ का धर्मेन्द्र पटेल, हरिनारायण राउत, बैजु पटेल, शुसिल पटेल, बजरंगी पटेल, रामअशिष राउत, वडा ९ का सुरेन्द्र पटेल, शंकर पटेल, बच्चु पटेल, वडा २ सिकिन्द्र पटेल, छबिलाल पटेल, देवेन्द्र पटेल, र वडा नम्बर १ का अजय पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

Comment


Related News

Latest News

Trending News