अपडेट 
२०८१ असार १९, बुधबार ०८:०७

उत्तरी भारतमा मंगलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिँदा कम्तीमा ११६ जनाको मृत्यु भएको छ भने सयौं जना घाइतेसमेत भएका छन् ।

एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठूलोीिभड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो ।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।

“हामीले अहिलेसम्म ११६ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ । पीडितहरूका लागि राहत र चिकित्सा सहायता प्रदान गर्न ध्यान केन्द्रित गरिरहेका छौँ”, उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वीले भने, “उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो र त्यसपछि दुःखद घटना भयो ।”

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरे ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै ‘गहिरो समवेदना’ व्यक्त गरिन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका आफन्तजनप्रति ‘समवेदना’ व्यक्त गर्नुभएको उनको कार्यालयले बताएको छ ।

“मुख्यमन्त्री आदित्यनाथले जिल्ला प्रशासनका अधिकारीहरूलाई घाइतेहरूलाई तुरुन्त अस्पताल लैजान र घटनास्थलमा उद्धार कार्य तीव्र बनाउन निर्देशन दिनुभयो”, कार्यालयले भनेको छ । उनले घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News