अपडेट 
२०८१ असार २१, शुक्रबार ०७:११

जनकपुरधाममा बिहीबार प्रदेशका माध्यमिक तहका विद्यार्थीद्वारा विज्ञान सामग्री प्रदर्शन कार्यक्रममा बोल्दै शिक्षा तथा संस्कृति मन्त्री लेखीले सरकारले शिक्षालाई प्राथमिकतामा नराखेको भन्दै गुनासो गरेका छन् ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री लेखीले संघ, प्रदेश र स्थानीय तहको प्राथमिकतामा शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु दुर्भाग्य रहेको बताए । शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले औल्याए । उनले समुदायिक विद्यालयलाई आकर्षणको केन्द्रको रुपमा अघि बढाउनका लागि अभिभावक र सरोकारवाला गम्भीर हुनुपर्ने बताए ।

समाज विकास केन्द्रको आयोजना र शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगमा प्रदेशका आठ वटै जिल्लाका सहभागी भएका विद्यार्थीलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रलाई संघ सरकार र प्रदेश सरकारले प्राथमिकता नदिएको बताउँदै यसका लागि अभिभावक गम्भीर हुनुपर्ने उनले बताए । शिक्षा क्षेत्रमा प्रदेश सरकारलाई अझै पनि दबाब दिनुपर्ने भन्दै मन्त्री लेखीले मधेश प्रदेशमा शिक्षातर्फ काम गर्न निकै चुनौति रहेको समेत बताए ।

सातै प्रदेशमध्ये मधेश प्रदेशको शिक्षा खस्कँदो अवस्थामा रहेकाले प्रदेशवासीको लागि चासोको विषयसमेत रहेको उनले बताए । उनले समुदायिक विद्यालयमा आकर्षण नभई नीजि क्षेत्रको विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण हुनु पनि सरकारको लागि चुनौति रहेको उनको भनाइ थियो । उनले विज्ञान प्रविधि र सूचनाको क्षेत्रमा समुदायिक विद्यालयका विद्यार्थी र नीजि विद्यालयका विद्यार्थी बीच प्रतिस्पर्धा गरी उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहस्वरुप अघि बढाएमा प्रदेशको हितमा हुने बताए ।

समाज विकास केन्द्र महोत्तरीकी अध्यक्ष रीना कुमारी मण्डलले मधेश प्र्रदेशका विद्यार्थीलाई विज्ञान, प्रविधि र सूचना क्षेत्रमा सहभागी गराउनुपर्ने आजको आधुनिक यूगको माग रहेको बताइन् । उनले यूग अनुसारको शिक्षाका लागि विज्ञान, प्रविधि र सूचना सबैको चासो रहेकाले यसलाई प्राथमिकताका साथ प्रदेश सरकारले यथेस्ट लगानी लगाएर विद्यार्थी र प्रदेशको भविष्यलाई सुरक्षित गर्नुपर्ने माग समेत गरिन् ।

प्रदेशका माध्यमिक तहका विद्यार्थीद्वारा विज्ञान सामग्री प्रदर्शनको क्रममा धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका विभिन्न समुदायिक विद्यालयका विद्यार्थीहरुले विभिन्न सृजनात्मक विज्ञान सामग्रीको प्रदर्शन गरेका थिए । सोको अवलोकन मन्त्री लेखीले समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News