अपडेट 
२०८१ असार २१, शुक्रबार ०७:१३

महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका– ९ स्थित भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका –२ स्थित बखरीका ३० वर्षीय आशिष कुमार कंठ रहेका छन् । गत जेठ २८ गते गौशाला नगरपालिका– ५ स्थित मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने बिनय कुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । सो घटनामा महतो घाइते भएका थिए । घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो ।

दुवैजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । दुवैजना जेलबाट छुटेका साथी रहेको खुलेको महोत्तरी प्रहरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए । दुवैजना १. प्र.२–००९ प २८६१ नं. को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको उनले बताए । घटना पश्चात् शशि शंकर कापर र आशिषले लगाएको कपडा पहिचान लुकाउनको लागि महोत्तरी पिपरा गाउँपालिका– ६ स्थित रतौली स्थित खेत्तमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ ।

पक्राउ परेका शशि शंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० बर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौँ २०७९ मा रिहा भएको उनले बताए । आशिष भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट रिहा भएका थिए । आरोपित शशिशंकर र आशिषसहित लुटपाटका विभिन्न आपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य तीन जनालाई पनि जिल्ला प्रहरी कार्यालय जलेश्वले सार्वजनिक गरेको छ ।

Comment


Related News

Latest News

Trending News