अपडेट 
२०८१ असार २२, शनिबार ०९:३२

भारत झारखण्डस्थित नूरीडिह गाउँका ३२ वर्षीय रवीन्द्र लोहरा ४ वर्षपछि घर फर्किएका छन् ।

वीरगञ्जस्थित मानव सेवा आश्रममा ५ महिना यता आश्रित उनलाई आश्रमका संरक्षक प्रकाश थारु र केन्द्रीय सदस्य देवेश प्रसाद गुप्ताले बिहीबार घरमै पुगेर आफन्तको जिम्मा लगाई पारिवारिक पुनर्मिलन गराएका छन् । मानसिक सन्तुलन बिग्रिएर ४ वर्षअघि उनी घरबाट हिँडेका थिए । उनी भौतारिँदै वीरगञ्ज आएका थिए । वीरगञ्जस्थित जिल्ला हुलाक कार्यालय अगाडिको नालामा लडेको अवस्थामा आश्रमको टोलीले २०८० फागुन २६ गते उनको उद्धार गरेको थियो ।

त्यसपछि आश्रम वीरगञ्ज शाखामा नियमित औषधोपचार तथा सेवा टहलको कारण हाल उनी पूर्णरुपमा स्वस्थ भइ आफ्नो ठेगाना, घर परिवारको बारेमा समेत जानकारी गराउन थालेपछि आश्रम व्यवस्थापनले उनलाई आफन्तसँग सम्पर्क गरेर पुनर्मिलन गराएको छ । बिहीबार साँझ बुवा जागरण लोहरा, आमा प्रमिला देवी र भाई प्रकाश लोहरालाई ४ वर्ष पछि भेट्दा रविन्द्रले आफूलाई थाम्न सकेनन् ।

उनी र उनका परिवारजनबीच लामो समय रुवाबासी पनि चलेको थियो । थारुले भने, ‘४ वर्ष पछि छोरालाई भेट्दा रवीन्द्रका आमा बुवा र भाई भाव बिभोर भएका थिए ।’ थारुले अघि थप्दैँ भने, ‘रवीन्द्रले आफूले नयाँ जीवन पाएको र घर पुगेर परिवारजन भेट्दा खुसी थाम्न सकेनन् ।’

Comment


Related News

Latest News

Trending News