अपडेट 
२०८१ असार २२, शनिबार १०:०२

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ सत्ता समीकरणका शीर्ष नेताहरुले निर्वाचन प्रणालीसंग सम्बन्धित केही विषयमा संविधान संशोधन गरी मुलुकमा स्थायी सरकार बनाउन मार्ग प्रशस्त गर्ने उद्घोष गरेका छन् ।

यद्यपि कांग्रेस–एमालेबीचको अमूर्त समझौता गोप्य छ । कुन विषयमा संविधान संशोधन गर्ने, संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत कसरी व्यवस्थापन गर्ने तथा राष्ट्रिय सरकारको मोडल लगायतका विषयमा गठबन्धनसंग सम्बद्ध शीर्ष नेताहरुले केही बोलेका छैनन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ गठबन्ठनलाई सघाउने घोषणा गरेको छ ।

प्रचण्ड सरकारका झण्डा फहराउँदै हिड्ने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि कांग्रेस–एमाले गठबन्धनलाई सघाउने उद्घोष गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई निरन्तरता दिए, नयाँ गठबन्धनलाई सघाउने सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उद्घोष गरिसकेको छ ।

संविधान जारी हुने बेला देखि नै संविधान संशोधनको राग अलाप्दै आएका मधेश केन्द्रित दलका नेताहरुका लागि रणनीतिक हिसाबले यो स्वर्णिम अवसर हो । प्रदेशको अधिकार, प्रादेशिक प्रहरी र निजामति कर्मचारी, शिक्षा, स्वास्थ्य, जनसंख्याको आधारमा जनप्रतिनिधित्व, पूर्ण समावेशी र समानुपातिक कानूनलगायतका विषयमा आवश्यकता अनुसार संविधान संशोधन वा कानुन निर्माण गर्न÷गराउन राष्ट्रिय भनिएको अब बन्ने सरकारमा मधेश केन्द्रित दलहरुको सहभागिता ठूलो अवसर हुन सक्छ, तर सम्बद्ध नेताहरुले यस विषयमा एक शब्द बोलेका छैनन् ।

जनमत मधेश सरकार बचाउन खोजेको छ भन्ने अन्य दलका नेताहरु मन्त्री खान नयाँ गठबन्धनको सहयात्री बन्न खोज्दै छन् । विभिन्न स्रोतहरुबाट प्राप्त जानकारी अनुसार, कांग्रेस–एमाले गठबन्धन प्रदेशबाट समानुपातिक निर्वाचन हटाउँन खोज्दैछ । प्रतिनिधि सभाका ११० समानुपातिक सांसदलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न चाहेको छ ।

कथंकदाचित समानुपातिक निर्वाचन प्रणाली हटाइयो भन्ने संघ र प्रदेश दुबै सदनमा मधेशी, महिला, अल्पसंख्यक, दलित आदिको प्रतिनिधित्व स्वाट्टै घटने छ । जो संविधानको मर्म विपरित हुने छ । यस विषयमा नागरिक समाजको चासो सार्वजनिक भए पनि मधेश केन्द्रित दलका नेताहरुको चासो भने सार्वजनिक भएको छैन । हामी सबैलाई थाहा छ, संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा दुई तिहाइ मत आवश्यक पर्छ ।

अर्थात् प्रतिनिधिसभाका २७५ मध्ये कम्तीमा १८४ सांसद संख्या तथा ५९ सदस्यीय राष्ट्रिय सभामा कम्तीमा ४० मत आवश्यक पर्छ । प्रतिनिधि सभामा कांग्रेस र एमालेका सांसदहरुको संख्या १६७ छन् । एमालेका टोपबहादुर रायमाझी निलम्बित छन् र सभामुख देवराज घिमिरेले मत बराबरीको अवस्थामा मात्र मतदान गर्न पाउने छन् । यसो भनौँ भने दुई दललाई दुई तिहाइका लागि थप १८ सांसदको साथ जुटाउनु पर्नेछ ।

राप्रपा– १४, जनमत–६, जनता समाजवादी, नेपाल–५, लोकतान्त्रिक समाजवादी पार्टी–५ तथाअशोक राई नेतृत्वको जसपा–७ लाई साथ लिँदा थप ३७ मत प्राप्त भई गठबन्धनको दुई तिहाई पुग्छ । तर, राष्ट्रिय सभाको अंकगणित भने नयाँ गठबन्धनको लागि त्यति अनुकूल छैन ।

५९ सदस्यीय राष्ट्रिय सभामा कम्तीमा ४० मत आवश्यक पर्छ । राष्ट्रिय सभामा माओवादी एक्लैका १७ सांसद छन् भने कांग्रेसका १६ र एमालेका १० गरी कुल २६ सांसद छन् । जसपा नेपालका ३ र लोसपाका १ गरी ४ जोड्दा पनि ३० मात्र पुग्छन् । जबकी संविधान संशोधन गर्न ४० सांसद चाहिन्छ । राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८, जनमोर्चाका १ र ३ मनोनीत सांसद छन् ।

कांग्रेस र एमालेलाई राष्ट्रिय सभामा दुई तिहाइ पु¥याउन एकीकृत समाजवादीसंगै जनमोर्चा र मनोनीत सांसदको पनि साथ चाहिन्छ । एकिकृत समाजवादी पार्टीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने घोषणा गरी सकेको अवस्थामा राष्ट्रिय सभामा संविधान संशोधन प्रयोजनको लागि यस पार्टीको सहयोगको अपेक्षा गर्नु स्वैर कल्पणा मात्र हुन सक्छ ।

संविधान जारी गर्ने बेलाको वस्तु स्थिती तथा दुबै सदनमा व्याप्त सांसदहरुको अंक गणितको आलोकमा के भन्न सकिन्छ भने, कांग्रेस र एमालेको नेतृत्वमा संविधान संशोधन संभव छैन । राष्ट्रिय सरकारको हल्ला पनि जनता झुक्याउने मेसो मात्र हो । संघीय संरचना हटाउँनु पर्ने एजेण्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी, संवैधानिक राजतन्त्रको पक्षमातथा संघीयता र धर्म निरपेक्षताको विरोधमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुको साथ सहयोगमा राष्ट्रिय सरकार गठन भयो भने समानुपातिक प्रतिनिधित्व, संघीयता तथा धर्म निरपेक्षता शंकटमा पर्ने प्रष्टै छ । अतः मधेश केन्द्रित दलहरुका लागि यो स्वर्णिम अवसर हो ।

पद भन्दा पनि संघीयता सवल बनाउन तथा मधेशी, आदिवासी जनजाति, महिला, अल्प संख्यक वर्गलाई अधिकार सम्पन्न बनाउन नयाँ गठबन्धनलाई रणनीतिक प्रयोग गर्न सक्नु पर्दछ ।

Comment


Related News

Latest News

Trending News