अपडेट 
२०८१ असार २२, शनिबार १३:३२

लगातार पानी परेपछि तराईमा बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगन्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका हुन् ।

वीरगन्ज महानगरका छपकैया, बजार छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन् । पानीलाई निकास दिन उपकरणसहित कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिनुभयो ।

कोशी र मधेस, लुम्बिनीसहित नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । यस्तै लगातारको झरीले काठमाण्डौ उपत्यकाका सबै नदी र खोलामा बाढी आएको छ । बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोला नदीमा बाढी आएको हो ।

बागमती नदीले खतराको तह पार गरेकाले नदी किनारमा रहनेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाढी आएका अरू नदी र खोला आसपासमा बस्नेलाई पनि सुरक्षित हुन भनिएको छ । लगातारको झरीले काठमाण्डौको सोह्रखुट्टे, पुतलीसडक, ललितपुरको धापाखेल लगायतका सडक जलमग्न भएका छन् ।

देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध छन् । सिद्धार्थ राजमार्ग, विपी राजमार्ग, कर्णाली राजमार्गसहित हेटौँडा–काठमाण्डौ सडकखण्ड, कान्ति राजपथको ललितपुर खण्ड, लमजुङको बेशीसहर चामे सडक, घोराही–तुलसीपुर सडक अवरुद्व छन् ।

Comment


Related News

Latest News

Trending News