अपडेट 
२०८१ असार २३, आईतवार ०९:१६

शिलान्यास गरेको तीन वर्ष पूरा भए पनि अलपत्र छाडिएको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्ने भएको छ । यसका लागि आवश्यक काम आगामी असोजदेखि प्रक्रियागत रुपमा सुरु हुने प्रतिष्ठानका नवनियुक्त अध्यक्ष प्रा.डा. पशुपति चौधरीले जानकारी दिएका छन् ।

प्रतिष्ठानको तेश्रो वार्षिकी शिलान्यास समारोहको अवसर पारेर शनिबार रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार तयारी विकास समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो जानकारी दिए । २०७८ जेठ २१ गतेको मन्त्रीपरिषद्को बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० बिरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा दिने निर्णय गरेपछि २०७८ असार २२ गते शनिबारकै दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । तर, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा पदाधिकारी र कर्मचारीको नियुक्ति समयमै हुन नसक्दा प्राप्त बजेट पनि फ्रिज हुनुका साथै निर्माण कार्य रोकिएको थियो ।

प्रतिष्ठान निर्माण स्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर निर्माण गर्ने बाहेक अरु केही काम हालसम्म भएको छैन । प्रतिष्ठान निर्माण स्थल यसरी वेवारिसे अवस्थामा रहँदा स्थानीयले गत असोज २६ गतेदेखि प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न माग गर्दै सय दिनसम्म रिले अनशन नै बसेका थिए । त्यस पश्चात् सरकारले प्रतिष्ठान निर्माणमा चासो देखाउँदै प्रतिष्ठानमा रिक्त रहेको अध्यक्ष पदमा डा. चौधरी र कार्यकारी निर्देशकमा डा. नागेन्द्र प्रसाद यादवलाई डेढ महिना अघि मात्र नियुक्त गरेको थियो ।

प्रतिष्ठानको संरचना निर्माण कार्यलाई गति प्रदान गर्न सबैको साथ र सहयोग आवश्यक रहेकाले तेश्रो वार्षिकी शिलान्यास समारोहमा यस्तो कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्रा. डा. चौधरीले बताए । ‘आफु जिम्मेवारी सम्हालेदेखि सप्तरीवासीको लामो प्रतिक्षा र सपना साकार गर्न दिनरात खटेका छौ, डा. चौधरीले भने – अब केही समयपछि नै प्रतिष्ठानको संरचना निर्माणको गुरुयोजना र डिपिआरका थप काम अघि बढने छ ।’ उनले यसका लागि अगामी असोजमा टेण्डर र कार्तिक देखि मंसिर महिना भित्रै निर्माण कार्य शुरु गर्ने गरी गृहकार्य भईरहेको जानकारी समेत दिए । नेपाल सरकारले दिएको जिम्मेवारी इमान्दारीताका साथ समयमै पुरा गर्ने प्रतिबद्धता जनाएका उनले आफु सबैको सरसल्लाह र सामुहिक प्रयासमा छिट्टै प्रतिष्ठानको निर्माण र संचालनमा ल्याउने गरी तीब्र गतिमा काम गर्ने दृढता समेत व्यक्त गरे ।

सरकारले यसअघि दिएको बजेट विभिन्न कारणले फ्रिज हुन गएको बताउँदै उनले यसपल्ट आफ्नो कार्यकालमा प्रारम्भिक कामका लागि ४० करोड ५० लाख ५५ हजार रुपैयाँ बजेट प्राप्त भएको जानकारी सहित अब कुनै पनि हालतमा निर्माण कार्य नरोकिने प्रतिबद्धता जनाए । प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाइ छ ।

सो कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रतिष्ठान निर्माण कार्यमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत प्रवीण, निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादव, गजेन्द्र नारायण सिंह अस्पतालका पूर्व मेसु डा. मुरली प्रसाद सिंह, जसपा नेता दिनेश यादव, नेकपा माओवादी केन्द्रका नेता सुभाष यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमण साह, निजामति कर्मचारीहरुको आधिकारी ट्रेड यूनियन सप्तरीका अध्यक्ष अजय झा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले प्रतिष्ठान स्थापनाले सप्तरीवासी मात्र नभई मधेश प्रदेश, कोशी प्रदेश र सीमावर्ती भारतीय क्षेत्रका वासिन्दा समेत लाभान्वित हुने भन्दै प्रतिष्ठान निर्माण कार्यमा आ–आफ्ना क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिष्ठानको तेश्रो वार्षिकोत्सव शिलान्याश समारोहका अवसर पारेर रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार विकास समितिद्वारा शनिबार नै नगरमा ‘स्वास्थका लागि दौड” नारा सहित म्याराथुन, गजेन्द्र नारायण सिंह अस्पतालमा सरसफाई, विरामीहरुलाई फलफुल वितरण तथा प्रतिष्ठान निर्माणस्थलमा दिप प्रज्वलन लगायतका कार्यक्रमको आयोजना समेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News