अपडेट 
२०८१ असार २४, सोमबार ०६:३७

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले युवा पीढीमा देखिएको लागूऔषध तथा मादक पदार्थ सेवनजस्ता कुलतबाट जोगाउनका लागि विद्यालय तह देखि नै खेलकुदको विकास गर्न जरुरी रहेको बताएका छन् ।

जनकपुरधाममा आइतबार मुख्यमन्त्री सिंहले ओलम्पिक दिवस २०२४ को अवसरमा मधेश प्रदेशको विभिन्न विद्यालयमा सञ्चालित विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै उनले विद्यालय तहदेखि नै युवा पुस्तालाई लागूऔषध तथा मादक पदार्थ जस्ता सेवनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताए । उनले विद्यालय तहबाट नै खेलकुदको विकास भएको खण्डमा मुलुकको लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार हुने बताउँदै प्रदेश सरकारले खेलकुद ऐन नै ल्याएर प्रदेशमा खेलकुदको विकास गर्न चाहेको बताए ।

मुख्यमन्त्री सिंहले नियमित खेलकुदको अभ्यासका लागि जनकपुरधाम, राजविराज तथा वीरगञ्जमा ठूलो स्तरको रंगशालाको निर्माण गर्ने पक्षमा प्रदेश सरकार अगाडी बढेको बताए । उनले खेलकुदको माध्यमले विश्वमा नै नेपालको प्रतिष्ठा बढाउने कार्यमा खेलाडीको अहम् भूमिका रहेकाले खेलकुदले खेलाडीका साथै राष्ट्रको पहिचान, सम्मान तथा प्रतिष्ठा बढाउने काम गर्ने गरेको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले खेलकुदको विकास विद्यालय तहबाट गर्नका लागि नै उपमहानगरपालिकाले विभिन्न वडाहरूमा खेलकुद मैदानको निर्माणमा जोड दिए ।

Comment


Related News

Latest News

Trending News