अपडेट 
२०८१ असार २५, मंगलवार ०९:३६

सरकारले  एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको भुक्तानी गरेको छ। चालु आर्थिक वर्षको लागि अत्यावश्यक बाहेक सबै भुक्तानी गरिसक्नु पर्ने अन्तिम दिन सोमबार ठूलो रकमको दायित्व फरफारख गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

महालेखाको तथ्यांक अनुसार सोमबार  नौ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ।

त्यस्तै १४ अर्ब ४० करोड रुपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ।

सार्वजनिक ऋणको सावा भुक्तानी र संस्थानहरूमा गरिने लगानीको लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च सोमबार मात्रै नौ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ भएको छ।

चालु वर्षमा हालसम्म भएको खर्चमा सोमबार मात्रै गरिएको भुक्तानी करिब तीन प्रतिशतको छ। चालु वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर अहिलेसम्म १३ खर्ब ५६ अर्ब रुपैयाँको खर्च भएको छ। बजेट समीक्षाबाट १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिए पनि यो खर्च हुन नसक्ने भएको हो।

पुँजीगत खर्चको भुक्तानी भने एकै दिनमा ८ प्रतिशत बढी भएको छ। यो वर्ष सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ मात्रै पुँजीगत बजेट विनियोजन गरेको थियो। अहिलेसम्म एक खर्ब ७२ अर्ब रुपैयाँ खर्च भएको छ। यसमध्ये सोमबार एकै दिनमा १४ खर्ब ४० अर्ब पुँजीगत खर्चको बिल भुक्तानी भएको छ। अहिलेसम्म सरकारको पुँजीगत बजेट कार्यान्वयन ५७ प्रतिशत मात्रै पुगेको छ।

सोमबार भएको पुँजीगत खर्च चालु आर्थिक वर्षको पहिले तीन महिनामा भएको खर्च बराबर हो। यो आर्थिक वर्षको साउन १ देखि असोज २६ गतेसम्म १४ अर्ब चार करोड मात्रै पुँजीगत खर्च भएको थियो।

यो वर्षलाई ११ खर्ब ४१ अर्ब चालु खर्च विनियोजन गरिएकोमा अहिलेसम्म जम्मा ८१ प्रतिशत खर्च भएको छ। त्यस्तै तीन खर्ब सात अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन खर्च विनियोजन गरिएकोमा हालसम्म ८१ प्रतिशत नै खर्च भएको छ।

Comment


Related News

Latest News

Trending News