अपडेट 
२०८१ असार २६, बुधबार १०:१५

डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेवापतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले तीन वटा उद्योगको बिजुली काटिदिएको छ । पटक पटक समय दिँदा पनि बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।

प्राधिकरणकाअनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्सको ६० करोड २९ लाख रुपैयाँ र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो ।

बक्यौता तिर्न नआएमा आज र भोलिमा अरु उद्योगको पनि बिजुली काटिने प्राधिकरणले चेतावनी दिएको छ । पटक पटकका विभिन्न समितिका सुझाव, संसदीय समितिको निर्देशन, प्राधिकरण बोर्ड बैठकको निर्णय लगायतका आधारमा प्राधिकरणले २०७२ सालको माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न एक्सेल सिटसहितको विवरण र टीओडी मिटरको विवरण समेटिएको पत्र पठाएको थियो ।

उद्योगीहरुले प्राधिकरणलाई ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । पछिल्लो समय १५ दिनको समय दिएर बक्यौता तिर्न प्राधिकरणले पत्र पठाए पनि पर्याप्त प्रमाण र तथ्याङ्कविनाको बिल आफूहरुलाई मान्य नहुने उद्योगीहरुले जवाफ फर्काएका थिए ।

प्राधिकरणले दिएको समय अस्ति सोमवार सकिएको छ । हिजो उद्योगीहरुले पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् । विद्युत प्राधिकरणले निर्देशक गणेश लुइटेलको संयोजकत्वमा ७ सदस्यीय आन्तरिक महसुल गणना समिति गठन गरेको थियो । समितिले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले पत्र पठाएको हो ।

Comment


Related News

Latest News

Trending News