अपडेट 
२०८१ असार २६, बुधबार ११:५२

कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।

महाशाखाले यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज कोशीको सहायक नदी तमोरका साथै कमला नदी र भोलि कन्काई नदीले सतर्कता तह पार गर्ने पूर्वानुमान छ । यी नदी तटीय क्षेत्रमा पनि अति उच्च सतर्कता अपनाउन भनिएको छ । भोलि र पर्सि बाग्मती र यसका प्रमुख सहायक नदीहरू साथै बबई र पश्चिम राप्ती नदीहरुमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

आज मधेस र कोशी प्रदेशका धेरैजसो जिल्ला इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा आकश्मिक बाढीको उच्च जोखिम छ । त्यस्तै अन्य जिल्लाहरु मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखा, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, नवलपरासी, कपिलवस्तु, रुपन्देही र आसपासका जिल्ला भई बहने साना नदीहरुमा बहाव बढ्ने तथा केहीमा आकश्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

त्यस्तै सप्तरीको खाँडो खोला र बलान खोलामा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा आज दिउँसो चार बजेसम्म नै सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै मोरङको हरैँचा, उदयपुरको कटारी र उदयपुरगढी, सिराहाको गोलबजार र महोत्तरी गौशाला वर्षामापन केन्द्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएकाले ती क्षेत्र हुँदै बहने स–साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

अन्तिम अपडेट: असार २६, २०८१

Comment


Related News

Latest News

Trending News