अपडेट 
२०८१ असार २७, बिहीबार ०९:१२

बाढीले दायाँबायाँको सडक कटान गरेपछि सर्लाहीको लालबन्दी नगरपालिका ३ जब्दी र ईश्वरपुर नगरपालिका ८ रामपुरलाई जोड्ने फूलजोर खोलाको पुल जोखिममा परेको छ ।

निरन्तरको वर्षापछि खोलामा आएको बाढीले पुलमा बारम्बार क्षति पुर्याइरहेको लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले बताए । उनका अनुसार पुलको जब्दी र रामपुर दुवैतर्फको भागमा सडक बगाएर ठूलो भ्वाङ परेको छ । थोरै मात्र बाँकी रहेको सडकबाट जोखिमपूर्ण किसिमले सवारी साधन वारपार गरिरहेका वडाध्यक्ष चौधरीले बताए ।

दुई वर्षअघि नै निर्माण पूरा भएको यो पुल ठेकेदारबाट अझै हस्तान्तरण भएको छैन् । सडक दायाँबायाँ दुवैतर्फको सडक समेत कालोपत्रे गर्ने भनिए पनि माटो र गिट्टी भरेर कच्ची सडक बनाएर ठेकेदार नै फरार भएको वडाध्यक्ष चौधरीले बताए । पुलमा दुवैतर्फ ठूलो खाडल बन्दा सवारी दुर्घटनाको समेत जोखिम बढेको छ ।

पुलको अवस्था दयनीय बनेकोबारे सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा लिखितरुपमै जानकारी गराइसकिएको लालबन्दी नगरपालिकाले जनाएको छ । मंगलबार मात्रै सडक डिभिजनको टोली आएर कटान भएको पुलको निरीक्षण गरेर फर्किएको वडाध्यक्ष चौधरीले जानकारी दिए । फूलजोर खोलामा पक्की पुल निर्माण भएपछि बाढीमा पौडिदै वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएपछि खुसी भएका स्थानीय अहिले पुलको दुवैतर्फको भाग कटान गरेर जोखिममा परेपछि निराश बनेका छन् ।

ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबहादुर थापाले निकै सङ्घर्ष गरेर निर्माण गरिएको पुल कटानको चपेटामा परेपछि चिन्ता थपिएको बताए । निर्माणाधीन अवस्थामै खोलाले बगाउने, ठेकेदार बारम्बार बेपत्ता हुने जस्ता समस्या झेलेर जसोतसो पुल निर्माणको काम पूरा गराए पनि अहिले बाढीले पुनः पुलको दुवैतर्फ कटान गरेपछि चिन्ता लागेको वडाध्यक्ष थापाले बताए ।उनले पुलमा बारम्बार कटान गरिरहेको तर ठेकेदार नै सम्पर्कमा नआउँदा आफूहरु समेत अन्यौलतमा परेको बताए ।

Comment


Related News

Latest News

Trending News