अपडेट 
२०८१ असार ३०, आईतवार ०९:०५

अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको छ।

शनिबार पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीको क्रममा पूर्वराष्ट्रपति समेत रहेका ट्रम्पमाथि गोली प्रहार भएको हो।

चुनावी र्‍यालीका क्रममा ट्रम्पले सम्बोधन गरिरहँदा एक्कासि गोलीको आवाज सुनिएको थियो। उक्त घटनाको भिडिओ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

बिबिसीका अनुसार बाइडेन प्रशासनबारे बोलिरहँदा केही पड्किएको आवाज आएको थियो। त्यो आवाज के को थियो भन्ने भेउ नपाउँदै ट्रम्पको दाहिने कानमा गोली लागेको थियो।

गोली लाग्ने बित्तिकै उनी दाहिने कान समात्दै बाँकी गोलीबाट बँच्नका लागि  पोडियम पछाडि धुँडा टेकेर बसे।

उनी पछाडि रहेका उनका समर्थकहरू पनि गोलीको आवाज सुनेर पोडियम पछाडि आए र घुँडा टेकेर बसे।

त्यसपछि त्यहाँ उपस्थित गुप्तचरहरू ट्रम्प भएठाउँ आए र उनलाई चारैतिरबाट घेरेर राखे।

गुप्तचरहरू आएपछि ट्रम्प पोडियमबाट उठे जतिबेला उनको कानबाट बगेको रगत गालासमम्म लागेको थियो। उनले मुठ्ठी उचाल्दै त्यहाँ उपस्थित समर्थकहरूको हौसला बढाए।

त्यसपछि उनका सुरक्षाकर्मीहरूले ट्रम्पलाई नजिकै राखिएको कारमा लिएर गएका थिए।

बिबिसीका अनुसार ट्रम्पले बोल्नुअघि एक जना ग्रेग नाम गरेका संदिग्ध पुरूष मञ्च नजिकैको घरतर्फ गएका थिए। उनले छतमा ती संदिग्धलाई राइफलसहित घिस्रिँदै गरेको देखेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीलाई खबर गरेका थिए।

ती संदिग्धलाई घटनास्थलमा उपस्थित सुरक्षाकर्मीले गोली प्रहार गरी मारेको छ।

ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली लागेर र्‍यालीमा सहभागी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन्।

घटनापछि गुप्तचर संस्थाले ट्रम्पको सकुशल रहेको बताएको छ।

गोली चलेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प सुरक्षित भएकोमा राहत महसुस गरेको बताएका छन्। उनले अमेरिकामा यस प्रकारको हिंसाका लागि कुनैपनि ठाउँ नरहेको बताउँदै घटनाको निन्दा गरेका छन्।

Comment


Related News

Latest News

Trending News