अपडेट 
२०८१ असार ३०, आईतवार १९:२१

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा  (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभएको हो ।

शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाउनु भएको थियो । सङ्घीय संसदमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डले पेस गर्नुभएको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । एक सांसद तटस्थ बस्नुभएको थियो ।

प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाएलगत्तै राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । सो समय आइतबार अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयभित्र प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न आग्रह गर्दै संयुक्त रूपमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।

Comment


Related News

Latest News

Trending News