अपडेट 
२०८१ श्रावण १, मंगलवार ०८:२९

जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण सार्वजनिक गरेको छ । गएको शुक्रवार लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस र धेरैजसो यात्रु त्रिशूलीमा बेपत्ता छन् ।

काठमाण्डौबाट गौरका लागि छुटेको एञ्जल बसमा चार जना महिला र २३ जना पुरुष गरी २७ जना र वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको गणपति डिलक्स बसमा पाँच महिलासहित ३८ जना यात्रु रहेको विवरण नामसहित सार्वजनिक भएको छ । गणपति डिलक्सका तीन जना यात्रुले पौडिएर ज्यान जोगाएका थिए ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आफन्तले दाबी गरेको, बसको यात्रु चलानमा उल्लेख भएको आधारमा विवरण तयार गरी सार्वजनिक गरिएको बताउनुभयो । विवरण अनुसार १० जना भारतीय नागरिक रहेको खुलेको छ । तर अझै पनि केही विवरणमा अन्योल नै रहेको उहाँले बताउनुभयो ।

खोजीका क्रममा १४ जनाको शव भेटिएको र तीमध्ये ७ जनाको परिचय खुलेर आफन्तले जिम्मा लिइसकेका छन् । बाँकी सात जनाको परिचय खुल्न सकेको छैन । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता नै छन् । बेपत्ता यात्रु र बसको खोजी आज पाँचौ दिन पनि चलिरहेको छ ।

Comment


Related News

Latest News

Trending News